ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनताको जलविद्युत कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०७५ (दोस्रो संशोधन) बाट आर्थिक हिसाबले विपन्न नागरिकलाई जलविद्युत आयोजना विकासमा समट्ने योजना अघि सारेको छ।
ऊर्जामन्त्री दीपकबहादुर खड्काले जलविद्युत विकासमा जनताको स्वामित्व कायम गर्न तथा आन्तरिक पुँजी बजारबाट आयोजना अघि बढाउन कार्यविधि संशोधन गरिएको बताए।
जलविद्युत आयोजनामा गरिएको सेयर लगानीबाट समुचित प्रतिफल समेत सुनिश्चितता गर्ने गरी योजना अघि सारिएको उनले बताए।
सरकारले अघि सारेको जनताको जलविद्युत कार्यक्रम अन्तर्गतका आयोजना निर्माण गर्ने कम्पनीको सेयर संरचनामा कम्तीमा ५१ प्रतिशत संस्थापक समूह र बढीमा ४९ प्रतिशत सर्वसाधारण समूहको रहने व्यवस्था छ। सर्वसाधारण समूहको लागि छुट्याइएको सेयर आयोजना प्रभावित तथा स्थानीय बासिन्दाको १० प्रतिशत रहने व्यवस्था छ।
'१० प्रतिशतसम्म प्रभावित क्षेत्रका जनताले सेयरमा सहभागिता पाउने भनिएको रहेछ। पैसा हुनेले त सहभागिता जनाउने भए, पैसा नहुनेले कसरी सहभागी हुने। हामीले गरिबीको रेखामुनि रहेका जनताको कुरा पनि गर्दै आएका छौं। र समृद्धिका कुरा गरेका छौं। १८ देखि २० प्रतिशत मान्छेहरू बिहान बेलुका छाक टार्न नसक्ने अवस्थामा छन्। उनीहरूले आयोजनामा लगानी गर्न सक्ने कुरै भएन। उनीहरू आर्थिक हिसाबले सक्षम नहुन्जेल मुलुकको समृद्ध पूर्ण हुँदैन,' मन्त्री खड्काले भने।
सरकारले सेयर खरिदका लागि विपन्न वर्गलाई दुईदेखि पाँच लाख रूपैयाँसम्म बिनाधितो ऋण उपलब्ध गराउने भएको हो। यस्तो ऋण जनसंख्याका आधारमा भन्दा पनि घरधुरीका आधारमा प्रवाह हुने मन्त्री खड्काले बताए।
विपन्न वर्गका नागरिकलाई यस्तो कर्जा उपलब्ध गराउने कार्यक्रम सेयर निष्कासन गर्ने कम्पनीले मन्त्रालयको सहयोग लिएर अगाडि बढाउनुपर्ने उल्लेख गरिएको छ।
कम्पनी तथा ऊर्जा मन्त्रालयको सहजीकरणमा बैंक तथा वित्तीय संस्थामार्फत् बिनाधितो ऋण उपलब्ध गराइने व्यवस्था कार्यविधिमा छ।
'विपन्न नागरिकको लागि छुट्याइने सेयरको हकमा आयोजनाको पचास प्रतिशत कार्य सम्पन्न भएपश्चात लगानी हुने व्यवस्था कम्पनीले मिलाउनु पर्नेछ,' कार्यविधिमा भनिएको छ।
सरकारले जनताको जलविद्युत कार्यक्रमअन्तर्गत देशभर २२ जलविद्युत आयोजनालाई अघि सारेको छ। जसमा माथिल्लो त्रिशूली, माथिल्लो अरूण, अरुण किमाथाङ्का, घुन्साखोला, सिम्बुवाखोला, रसुवागढी, सान्जेन, अपर सेती, बुढीगण्डकी, भेरी बबई डाइभर्सन, चैनपुर सेतीलगायत छन्।