ग्वार्को ओभरपासको काम थपिएको ठेक्का अवधिमा पनि नसकिने भएको छ।
ओभरपास निर्माण गरिरहेको कम्पनी आशिष समानान्तर रेलिगेयर जेभीका प्रोजेक्ट म्यानेजर कृष्ण गोपाल श्रेष्ठका अनुसार एक महिनाको अवधिमा यो आयोजनाको काम पूरा हुने अवस्था छैन।
'ओभरहेड ब्रिजको स्ट्रकचरतर्फ शत प्रतिशत काम सकिएको छ। कालोपत्रे बाँकी छ। एप्रोच रोडको ८५ प्रतिशत काम बाँकी छ। १५ प्रतिशत काम अबको एक महिनामा सकिँदैन,' उनले सेतोपाटीसँग भने।
सडक विभाग अन्तर्गत गुणस्तर तथा अनुसन्धान केन्द्रका निर्देशक प्रभातकुमार झाका अनुसार पुल निर्माणको काम ९८ प्रतिशत सकिएको छ। रेलिङ, पेभमेन्ट, रङरोगन लगायत काम बाँकी छन्।
अप्रोच सडकका पनि केही काम बाँकी नै छन्।
निर्माण कम्पनी आयोजना म्यानेजर श्रेष्ठका अनुसार आगामी फागुनसम्म काम सक्ने योजना छ। तर, यो आयोजनाको पछिल्लो पटक थपेको ठेक्का अवधि भने आगामी पुस ८ गते सकिँदैछ।
सुरूको सम्झौताअनुसार यो आयोजना निर्माणको काम २०८० फागुन १२ गतेभित्र नै सकिसक्नु पर्ने थियो। त्यो अवधिमा नसकिएपछि म्याद थप गरिएको थियो।
सुरूको डिजाइन परिवर्तन गर्नुपरेको कारण देखाउँदै ठेकेदार कम्पनीले थप समय मागेको थियो।
ओभरपास निर्माण स्थलको माटो कमजोर भएका कारण सुरूको डिजाइन परिवर्तन गर्नु परेको र निर्माणमा थप १० महिना लाग्ने बताएको थियो।
आयोजनाको ठेक्का इन्जिनियरिङ प्रोक्युमेन्ट एण्ड कन्स्ट्रक्सन (इपिसी) मोडलको भएका कारण तोकिएको अवधिमा नसकिँदा कम्पनीले हर्जना तिर्नुपर्ने अवस्था सिर्जना भएको थियो।
इपिसी मोडलको ठेक्का भएका कारण ठेकेदार आफैले डिजाइन गर्ने उसैले निर्माण गर्ने हो। विविध कारण लागत बढे पनि यसमा ठेकेदार नै जिम्मेवार हुनुपर्छ।
तोकिएको अवधिमा नसकिँदा पनि सरकारले निर्माण कम्पनीलाई हर्जना तिराएर काम गर्न लगाउने व्यवस्था थियो।
तर, सरकारले सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधन गर्दै म्याद सकिएका तर खरिद सम्झौता अनुसार काम चालु रहेका, खरिद सम्झौतामा डिजाइन परिवर्तन लगायत विभिन्न कारण तोकिएको अवधिमा काम नसकिएका वा सकिने आधार नदेखिएका आयोजनाको म्याद थप गर्न सकिने व्यवस्था ल्यायो।
त्यही व्यवस्था टेकेर १० महिना म्याद थप गरिएको थियो।
त्यसबेला म्याद थप गरेपछि अब फिनिसिङ लगायत सामान्य काम मात्रै बाँकी रहेको र २०८१ साउनदेखि गाडी गुडाउने सकिने सडक विभाग गुणस्तर अनुसन्धान केन्द्रका अधिकारीहरूले बताएका थिए। ठेकेदार कम्पनीले पनि सोही कुरा बताएको थियो।
त्यसबेला ओभरहेड ब्रिजको काम ९५ प्रतिशत सकिएको केन्द्रले जानकारी दिएको थियो। ब्रिजको दायाँबायाँको काम बाँकी रहेको र पहुँच सडकको काम ८० प्रतिशत सकिएको उल्लेख गरिएको थियो।
बर्खाको समय भएका कारण ग्राभेल गरेर कम्पाक्सन गर्नुपर्ने काममा लगभग २० दिन अवरोध हुँदा लक्षित अवधिमा गाडी गुडाउन नसकिएको प्रतिक्रिया उनीहरूले दिएका थिए।
गएको दसैंदेखि भने जसरी पनि गाडी गुडाउने प्रतिक्रिया अधिकारीहरूले दिएका थिए। दसैं सकिएर ठेक्का अवधि गुज्रिन महिना दिनमात्रै बाँकी हुँदा फेरि पनि त्यो अवधिमा नसकिने प्रतिक्रिया ठेकेदार कम्पनीले दिएको हो।
त्यसैगरी, १७ करोडमा ठेक्का लिएकोमा खर्च पनि दोब्बर भएको निर्माण कम्पनीले बताएको छ।
कम्पनीका प्रोजेक्ट म्यानेजर श्रेष्ठले ३५ करोड रुपैयाँ खर्च सकेको बताए। अझै थप १० करोड रुपैयाँ जति खर्च हुने उनले बताए।
जमिनलाई प्रबलीकरण 'ग्राउन्ड इम्प्रुभमेन्ट' गर्न ठेक्का सम्झौतामा भएको भन्दा थप काम गर्नु परेकाले पनि खर्च बढेको उनको भनाइ छ।
'भविष्यमा तीन किलोमिटर जस्तो सडक दब्ने जोखिम हुने देखिएपछि त्यस्तो हुन नदिन विज्ञहरू राखेर काम गर्दा ९ करोड थप खर्च भयो। हामीले यसको रकम सरकारसँग माग गरेका छौं। जवाफ केही आएको छैन,' उनले भने।
उपत्यकामा धेरै जाम हुने क्षेत्रमध्ये एक ग्वार्को चोकमा लामो समय अगाडिदेखि चर्चामा रहेको ओभरपास २०७९ मंसिर १६ गतेदेखि निर्माण सुरू गरिएको हो।
निर्माण सुरू भएको १६ महिनाभित्र निर्माण सक्ने लक्ष्य थियो।
यस्तो ओभरपास नेपालमै पहिलो पटक बन्न लागेको हो। यसमा पिलर प्रयोग हुँदैन। स्लोप (भिरालो) पारेर हाइट (उचाइ) बनाउने र ओभरहेड ब्रिज रहन्छ। चक्रपथ सडकको फास्ट ट्र्याकमा यस्तो स्लोप रहन्छ।
ग्वार्को चोकबाट पश्चिम अर्थात् बिएन्डबी अस्पतालतर्फबाट चोकसम्म १८५ मिटरको लामो स्लोप बनाइनेछ। त्यसैगरी बालकुमारी तर्फबाट ३२० मिटरको अर्को स्लोप बनाइने छ।
यसबीचमा ३५ मिटरको ओभरहेड ब्रिज रहन्छ। यसरी कुल ५४० मिटरको ओभरपास निर्माण हुन लागेको हो। स्लोपको चौडा १६ मिटर रहन्छ। ओभरपास चार लेनकै रहन्छ। बीचका लेनमा ओभरपास रहे पनि दायाँबायाँ सर्भिस लेनहरू हालकै अवस्थामा रहन्छन्।
ओभरपास निर्माणपछि ग्वार्को चोकमा हुने ट्राफिक जाम हट्ने विश्वास सरकारको छ। ग्वार्को चोकबाट आरपार गर्ने सवारीहरू ३५ मिटरको ओभरहेड मुनिबाट गुड्ने हुँदा जाम नहुने उल्लेख गरिएको छ।
सडक विभागले २०७८ सालमा ओभरपास निर्माण ठेक्का लगाएर डिजाइनको जिम्मा दिएको थियो। निर्माणको जिम्मा आशिष समानान्तर रेलिगेयर जेभीले पाएको छ। यो ओभरपास १७ करोड ६ लाख रूपैयाँमा ठेक्का लागेको हो। निर्माण सकिएको पाँच वर्षसम्म मर्मत सम्भारको काम पनि ठेकेदारले नै गर्नुपर्नेछ।