कोरोनाको दोस्रो लहरले सबैलाई भयभित बनाएको छ। दिनानुदिन बढ्दै गएको महामारीका कारण संक्रमित र मृत्यु हुनेको संख्या बढिरहेको छ।
यही विषयलाई ध्यानाकर्षण गराउँदै भक्तपुरस्थित ख्वपः अस्पताल, कोभिड युनिटका डाक्टर रत्नसुन्दर लासिवाले कोरोनालाई 'केही होइन' भनेर हेल्चेक्र्याइँ गर्न नुहने बताए।
'यो नितान्त नौलो रोग हो। यो रोगसँग कसरी व्यवहार गर्ने, के गर्दा यो रोगलाई नियन्त्रण गर्न सकिन्छ भन्ने सामान्य कुरा हामीले थाहा पाइसकेका छौं,' उनले भने, 'त्यही भएकाले कतै जाँदा मास्क प्रयोग गर्ने, एकआपसमा बस्दा भौतिक दुरी कायम गर्ने, आफूले केही समान छुनुपर्यो वा बाहिर गएर घर फर्कनुपर्यो भने साबुन–पानीले मिचिमिची हात धुने वा स्यानिटाइजर प्रयोग गर्नुपर्छ।'
अहिले कोरोना केही होइन भनेर पनि केही मान्छेले जथाभावी गरेको अवस्था छ। त्यसैकारण कोरोना संक्रमण भएर मान्छे सिकिस्त भएर अस्पताल आउनुपरेको र कसैकसैले ज्यानै पनि गुमाउन पुगेका उनले जानकारी दिए।
'उदाहरण हाम्रो भक्तपुर नगरपालिका भित्रै छ,' उनले भने, 'कोरोनाले कसैलाई पनि भेदभाव गर्दैन। त्यही भएकाले यसलाई केही पनि होइन भनेर अफवाह नफैलाऔं। आफू पनि जोगिऔं, अरूलाई पनि जोगिने उपाय सिकाऔं र दुःखमुक्त हुन सहयोग गरौं।'