विगत तीन सातामा सुनको मूल्य प्रतितोला २५ सय रुपैयाँले महँगिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साउन २३ गते प्रतितोला ५४ हजारमा सुनको कारोबार भएकोमा तीन सातापछि आज ५६ हजार ५ सय पुगेको छ।
यो अघिल्लो दिनको तुलनामा ५ सय रुपैयाँ बढी हो। यसअघि बिहीबार ५६ हजारमा सुनको कारोबार भएको थियो। त्यस्तै चाँदीको मूल्य पनि तीन सातामा तोलामा ४५ रुपैयाँले महँगिएको छ। गत साउन २३ गते तोलाको ७२५ रहेको चाँदी आज ७७० कायम भएको छ।
उत्तर कोरियाले जापानको आकाशमा क्षेप्यास्त्र प्रहार गरेर अन्तर्राष्ट्रिय क्षेत्रमा तनाव उत्पन्न गराउँदा पछिल्लो समय सुनचाँदीको माग बढ्न गई मूल्यमा असर परेको एजेन्सीहरुले जनाएका छन्।