तीज नजिकिँदै गर्दा सुनको माग बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले हाल दैनिक ३५ केजीको हाराहारीमा सुनको कारोबार भइरहेको जनाएको छ। ‘केही दिनअघिसम्म २० केजीको हाराहारी रहेकोमा अहिले ३५ पुगेको छ’ महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यले भने।
माग दैनिक ३५ केजी भए पनि आपूर्ति भने २० केजी मात्रै छ। चाडपर्वका बेला बैंकहरुले दैनिक २० केजीसम्म सुन उपलव्ध गराउने गरेका छन्।
पहिले नै व्यवसायीहरुले तयार बनाएर राखेको नयाँ नयाँ डिजाइनका गरगहनाले अहिले मागको केही हिस्सा धानेको उनले बताए। ‘पछिल्ला दिनहरुमा रेडिमेड गरगहना पर्याप्त बिक्री हुने गरेको छ, पहिले नै व्यवसायीले किनेर रिफाइन गरेर तयार गरेका गहना यतिबेला बेच्ने गर्छन्, जसले गर्दा माग र आपूर्तिबीच सन्तुलन भएको हो।’ उनले भने। बजारमा सुनको अभाव भने नरहेको उनले स्पष्ट पारे।
त्यस्तै कतिपयले पुरानो गरगहनालाई नै डिजाइन मोडिफाइ गर्न ल्याउने भएकाले पनि माग नबढेको हुन सक्ने शाक्यको भनाइ छ। उनका अनुसार सुनको मूल्यले पार्ने असरले पनि माग बढ्न नसकेको हो।
मंगलबार फाइन सुनको मूल्य प्रतितोला ५५ हजार ५ सय रुपैयाँ छ। अघिल्लो दिनको तुलनामा यो मूल्य २ सय रुपैयाँले बढी हो। ९९. ९ प्रतिशत शुद्ध सुनलाई फाइन र ९९. ५ प्रतिशत शुद्धलाई स्टाण्डर्ड भनेर व्याख्या गर्ने गरिन्छ। स्टान्डर्ड सुनको मूल्य फाइनकोभन्दा प्रतितोला ३ सय रुपैयाँ कम हुन्छ।
भूकम्पअघिका तीजका तुलनामा भने अहिलको माग पनि कम रहेको उनको भनाइ छ। ‘भूकम्पअघिका तीजहरुमा लगभग माग दैनिक ५० केजी पुग्ने गरेकोमा त्यसपछिका दिनमा ५० केजी पुग्न सकेको छैन, अहिलेको माग पनि पर्याप्त होइन’ शाक्यले भने। दसैँतिहार, तीज र विवाहको लगन जुरेका महिनाहरुमा सुनको माग बढी हुने गरेको छ।