सुनचाँदी व्यवसायीहरुले सुनचाँदी लगायत बहुमुल्य पत्थर जडित मौलिक नेपाली गरगहनाहरुको निर्यातमुलुक उद्योग स्थापना गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
काठमाडौं सुनचाँदी व्यवसायी संघको पन्ध्रौ बार्षिक साधारणसभामा सहभागी व्यवसायीले मौलिक गरगहनाको निर्यात मुलक उद्योग स्थापना गर्नुपर्नेमा जोड दिएका हुन्। कार्यक्रममा काठमाडौं सुनचाँदी व्यवसायी संघका अध्यक्ष महेन्द्ररत्न शाक्यले संघीय संरचनामा मुलुक गईसकेको परिपेक्षमा स्थानीय र पररम्परागत नेपाली गरगहनाहरुको निर्यात गरी मुलुकलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनका लागि त्यस्ता उद्योग स्थापनाको विकल्प नभएको बताए।
उनले सुनचाँदी तथा बहुमुल्य पत्थर जडित नेपाली परम्परागत गहना कारोबारको माध्यमबाट राष्ट्रिय आयमा थप योगदान पुर्याई नेपालीको जीवनस्तरमा टेवा दिने लक्ष आफुहरुले लिएको उल्लेख गरे।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले परम्परागत रुपमा रहँदै आएको सुनचाँदी व्यवसाय धरापमा पर्न सक्ने संभावना रहेको भन्दै सिप सिकाईलाई विस्तार गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने तर्फ विचार पुर्याउनुपर्नेमा जोड दिए।
अहिले पनि परम्परागत नेपाली गहना बनाउने कालिगडहरु नेपाली नभई विदेशी बढी भएको भन्दै उनले सिपमुलुक तालिम संचालनका लागि महानगरले सहयोग गर्ने प्रतिवद्धता जनाए।
मेयर शाक्यले सुनचाँदी जस्ता बुहमुल्य पत्थर जडित धातुहरुको व्यवसाय विस्तारमा महानगरले सधै सहयोग गरिरहने उल्लेख गरे।