केही वर्षयता हिराका गहना लगाउनेको जमात बढिरहेको छ। धनाढ्यदेखि उच्च मध्यम वर्गीयहरूको रोजाइमा हिराका गहना पर्न थालेको छ।
विशेषगरी फुली, औंठी, हार, टप, झुम्का, मंगलसूत्र, नेकलेस लगायत हिराका गहनाको बिक्री राम्रो छ। सुनको मूल्य बढ्दै गएपछि हिरामा धेरैको आकर्षण बढेको व्यवसायीहरू बताउँछन्।
त्यस्तै, समय र ट्रेन्ड अनुसार पहेँलो सुनका गहनामाभन्दा सेतो र विभिन्न रंगका गहनामा मानिसहरूको रुचि बढेको सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउँछन्।
'सुनको मूल्य जति अनुपातमा बढिरहेको छ त्यति नै अनुपातमा हिराको मूल्य बढेको छैन। यसकारण पनि सुनबाट हिरामा सिफ्ट भएको देखिन्छ,' उनले भने, 'अर्को कुरा पहेँलो गहनाभन्दा सेतो र अन्य रंगको गहनामा मानिसहरूको रुचि देखिन्छ।'
सामान्यत: हिरालाई लक्जरी मानिन्छ। सुन र चाँदीका गहनाको तुलनामा हिरा महँगो हुन्छ। यसकारण पनि विगतमा हिराका गहना बनाउने र लगाउनेहरू कम हुन्थे।
उनका अनुसार केही वर्षयता सुनको मूल्य उतारचढाव भएपछि हिराको गरहगनामा रुचि बढेको छ। जसकारण संसारमै महँगो मानिने हिराजडित गहना सर्वसुलभ हुँदै गएको नेपाली बजारले पनि पुष्टि गर्छ।
अहिले हरेक दिनजसो न्यूरोडका प्राय: पसलमा सुनसँगै हिराका गरगहना किन्नेहरू पनि पुगिरहेका छन्।
'जन्मदिन, वैवाहिक एनिभर्सरी, विवाह, इन्गेजमेन्ट लगायतका लागि धेरैले हिराको औंठी बनाउन आउनुहुन्छ,' न्यूरोडस्थित अन्नपूर्ण ज्वेलरीका एक कर्मचारीले भने, 'कतिपयले हिराकै सेट पनि किन्नुहुन्छ। जे होस् पहिलेको तुलनामा हिरा गहनाको व्यापार बढेको छ।'
नेपालीहरूले कम हिरा राखेर पनि विभिन्न डिजाइनका गहना बनाउने गरेको ती कर्मचारीले बताए।
यसरी बनाइने गरगहनामा १४ क्यारेटको सुनमा हिरा राखेर गहना बनाइन्छ। सुनका गहना बनाउँदा सत प्रतिशत २४ क्यारेटको बनाउनुपर्छ। तर, हिराका गहना बनाउँदा १४ क्यारेटमा बनाउने गरिएको सुनचाँदी व्यवसायी संघका पूर्वअध्यक्ष शाक्य बताउँछन्।
हिरा सामान्यत: एक क्यारेटको पाँच हजारदेखि १० लाखमाथिसम्म पर्छ। कतिपय अवस्थामा भने हिराका मसिना कणहरू राखेर पनि कम मूल्यमा गहनाहरू बनाउन सकिन्छ। कटिङ (काटिएको तरिका), कलर (रंग), क्लियारिटी (पारदर्शिता) र क्यारेट (तौल)का आधारमा हिराको मूल्य निर्धारण हुन्छ।
'अहिले सानो औंठी बनाउने हो भने पनि ३०/४० हजार रूपैयाँमा पाइन्छ, सुनकै बनाए पनि त्यति मूल्य पर्छ,' शाक्यले भने, 'सर्वसाधारणको बुझाइ के छ भने सुनको जस्तो रिसेल भ्यालु (पछि बेच्दा मूल्य नआउने)हुँदैन कि भन्ने छ। हिराको पनि रिसेल भ्यालु हुन्छ।’
तर, हिराको गहना आफूले चाहेकै समयमा भने बिक्री हुँदैन।
उनकाअनुसार हिराको मूल्य पाँच/पाँच वर्षमा परिवर्तन हुन्छ। गहना बनाएको पाँच वर्षभित्रमा बेच्दा १० प्रतिशत रकम काटिन्छ। त्योभन्दा बढी समय भएमा मार्केट भ्यालुअनुसार रकम हेरफेर हुन्छ।
यसकारण पनि विगतमा मानिसहरूले हिराभन्दा सुनका गहना नै रुचाउँथे। सुनमा गरेको लगानीले प्रतिफल पनि दिने हुँदा धेरैको रुचि अहिले पनि सुनका गरगहना देखिन्छ। उनका अनुसार हिराका गहना भने बेच्नका लागि भन्दा पनि सधैंका लागि बनाउँछन्।
यसरी नेपालमा बिक्री गरिने हिरा भारतबाट आयात गरिन्छ। हिराको कटिङ(आकार) र पोलिस भारतमै हुन्छ। व्यवसायीहरूले मागअनुसार आयात गर्छन्।
व्यवसायीहरूले भने जस्तै भन्सार विभागको तथ्यांकले पनि हिराको गहनामा आकर्षण बढेको दखाउँछ। हिरा आयात गर्दा औद्योगिक प्रयोजन र व्यापारिक प्रयोजनका लागि आयात गरिन्छ। अन्य मुलुकमा घडी तथा अन्य सामग्रीहरूमा हिरा राखेर बनाइन्छ।
तर, नेपालमा भने यस्ता सामग्रीमा हिराको प्रयोग खासै हुँदैन। पछिल्लो पाँच वर्षमा ११ अर्ब ९१ करोड ७ हजार रूपैयाँको तीन लाख १२ हजार ७२९ क्यारेट हिरा आयात भएको छ।
यो तथ्यांकले हरेक वर्ष हिरा आयात दोब्बरले बढेको देखाउँछ।
विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/७७ मा एक अर्ब पाँच करोड १० लाख रूपैयाँको ६७ हजार १७४ क्यारेट हिरा आयात भएको थियो। त्यस्तै, आर्थिक वर्ष २०७७/७८ मा एक अर्ब ३६ करोड ८५ लाख रूपैयाँको ३६ हजार ११० क्यारेट हिरा आयात भएको थियो।
त्यस्तैगरी, आर्थिक वर्ष २०७८/७९ मा दुई अर्ब ४७ करोड ३८ लाख रूपैयाँको ६२ हजार ६०६ क्यारेट हिरा आयात भएको तथ्यांकमा उल्लेख छ। त्यस्तै, आर्थिक वर्ष २०७९/८० मा दुई अर्ब ९२ करोड ५४ लाख रूपैयाँको ६३ हजार ५२५ क्यारेट हिरा आयात भएको थियो।
आर्थिक वर्ष २०८०/८१ मा तीन अर्ब २७ करोड २१ लाख रूपैयाँको ८३ हजार ३१४ क्यारेटको हिरा आयात भएको छ।
यसरी हरेक वर्ष हिराको आयात बढ्दै गएको विभागको तथ्यांकले देखाउँछ।
नेपालमा हिरा प्रयोगको इतिहास धेरै लामो छैन। व्यवसायी शाक्यका अनुसार राणाकालीन समयमा धेरै हिरा बाहिरबाट आउँथ्यो। तर, आयातमा प्रतिबन्ध लगाइएको थियो। २०६६ सालमा सरकारले हिरा आयातका लागि नीति नियम बनायो। २०६७ सालमा उक्त नियम कार्यान्वयनमा आयो।
यसपछि हिरा आयात थालिएको हो। त्यतिबेला स्वदेशी बजारका लागि हिरा नौलो थियो। व्यापार कम हुन्थ्यो। शाक्यका अनुसार भूकम्पपछि हिराका गरगहनामा आकर्षण बढ्न थालेको हो।
'दुई/चार वर्षयता बजारमा ट्रेन्ड अनुसारका हिराको डिजाइनको बढेको छ,' शाक्यले भने, 'पहेँलो रंगको सुनभन्दा सेतो र विभिन्न रंगका हिराका गरगहना लगाउनेहरू बढिरहेका छन्। यसकारण पनि हिरामा आकर्षण बढेको देखिन्छ।'