शुक्रबार सुनको भाउ तोलाको एक लाख ४९ हजार ९ सय रूपैयाँ पुग्यो। यो हालसम्मकै उच्च मूल्य हो। नेपाली बजारमा पहिलोपटक २०७८ फागुन २२ गते सुनको मूल्य तोलाको एक लाख एक हजार नौ सय पुगेको थियो। त्यसयता २९ महिनामा सुनको भाउ तोलामा ५० हजार रूपैयाँ बढेको हो।
विशेषगरी बिहेमा सुन बढी हुन्छ। बिहेको खर्चमा पनि सुनकै हिस्सा धेरै भएको पाइन्छ।
सुनको भाउ ऐतिहासिक उच्च भएको बेला हामीले समाजका विभिन्न क्षेत्रका मानिसलाई उनीहरूको बिहेमा सुनको भाउ कति थियो भनेर सोधेका छौं।
— राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसी
केसीले बिहे गर्दा सुन तोलाको सय रूपैयाँ थियो।
'ऊ बेलाको कुरा कसले पत्याउँछ र! मैले बिहे गर्ने बेलामा सय रूपैयाँ तोला सुन पाइन्थ्यो,' केसीले भने, 'त्यो बेला अहिले जस्तो झकिझकाउ हुँदैन थियो। बाह्र सय रूपैयाँमा त ठूलो बिहे नै हुन्थ्यो। मेरो बिहेमा एक तोला सुन किनेको हो, सय रूपैयाँ परेको थियो।'
नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्य ६ दशकदेखि सुनको व्यापार गर्दै आइरहेका छन्। उनी २०२२ सालदेखि यो व्यवसायमा छन्। उनले बिहे गर्दा सुन तोलाको दुई सय रूपैयाँ परेको थियो। उनको बिहे २०१९ सालमा भएको थियो।
'मैले बिहे गर्दा दुई सय रूपैयाँ तोला पाइन्थ्यो। मैले सुनको व्यापार सुरू गर्दा २५० रूपैयाँ तोलामा बेचेका थियौं,' उनले भने, 'पछि घट्दै १८० रूपैयाँ पनि भएको थियो। तर २०२५ सालसम्म दुई सय रूपैयाँ तोलामै चल्यो।'
— मीनेन्द्र रिजाल, कांग्रेस नेता
रिजालले २०४० सालमा बिहे गरेका थिए। उनले बिहे गर्ने बेला सुनको भाउ तोलाको करिब ३५ सय रूपैयाँ थियो।
'हामीले बिहेमा घरमै भएको सुन चलाएका थियौं। भाउ चाहिँ ३५/३६ सय थियो सायद,' रिजालले भने।
— चिरञ्जीवी नेपाल, पूर्वगभर्नर
नेपालले २०४२ सालमा बिहे गरेका थिए। त्यति बेला सुनको भाउ केही घटेको थियो।
उनका अनुसार उनले ३२ सय रूपैयाँ तोलामा सुन किनेका थिए।
— गोकर्ण विष्ट, एमाले नेता
विष्टले बिहे गर्ने बेलामा सुनको भाउ निकै बढेको थियो। उनका अनुसार त्यो बेला सुन ६ हजार रूपैयाँ तोला पुगेको थियो। उनले २०५० सालमा बिहे गरेका हुन्।
'मैले बिहे गर्दा ६ हजार रूपैयाँ थियो, अहिले त डेढ लाख पुगिसकेछ है,' विष्टले भने।
— निर्मल प्रधान, सेयर लगानीकर्ता
सेयर कारोबारमा ठूला लगानीकर्ता भनेर चिनिने प्रधानले बिहे गर्ने समयमा सुनको भाउ आठ सय रूपैयाँ तोला थियो। उनले त्यो बेला ८-१० तोला सुन किनेका थिए।
— किरण केसी, कलाकार
केसीको बिहेमा ३० तोला सुन प्रयोग भएको थियो।
उनले आफ्नो बिहेको समयमा किनेको सुनको मूल्य सम्झिँदै भने, ‘म त धेरै धनी भइसकेँ कि क्या हो है! मैले बिहे गर्दा किने बराबरको सुन बेच्दा अहिले कति मूल्य पर्छ होला?'
उनले बिहे गर्ने समयमा सुनको भाउ १७ सय रूपैयाँ थियो। तीस तोलाको त्यो बेला ५१ हजार रूपैयाँ पर्थ्यो। अहिले करिब ४५ लाख रूपैयाँ पर्छ।
केसीले त्यति बेला अन्य वस्तु तथा सेवाको मूल्य पनि सुनाए। ५ पैसामा चिया, ४८ पैसामा सिनेमाको टिकट, सात रूपैयाँ लिटरमा पेट्रोल र चाँदी १७५ रूपैयाँमा तोलामा पाइन्थ्यो।
— बद्री पंगेनी, कलाकार
पंगेनीले बिहे गर्दा सुनको भाउ ८ हजार पुगिसकेको थियो।
'मैले बिहे गरेको मिति त भन्दिनँ,' हाँस्दै उनले भने, 'सुन चाहिँ ८ हजार रूपैयाँ तोलामा किनेको हो। चार तोला किनेका थियौं।'
— भवानी राणा, पूर्वअध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
राणाले २०५२ सालमा बिहे गर्दा सुनको भाउ ९/१० हजार रूपैयाँ थियो। आफ्नो बिहेमा करिब ४० तोला सुन प्रयोग भएको उनले बताइन्।
'सुनको भाउ डेढ लाख पुग्यो है! सुनको मूल्य बढेरै धनी भइन्छ कि क्या हो,' राणाले हाँस्दै भनिन्।
त्यति बेलाको भाउमा ४० तोला सुनको मूल्य चार लाख हाराहारी थियो थियो। अहिले करिब ६० लाख रूपैयाँ पुग्छ।
— कुमार पाण्डे, ऊर्जा व्यवसायी
पाण्डेले २०५५ सालमा बिहे गर्दा सुन तोलाको ९-१० हजार आसपास भएको अनुमान गर्छन्। दुई-तीन लाख रूपैयाँमा बिहे सकेका उनले एक-डेढ तोला सुन किनेको बताए।
— मनोज ज्ञवाली, बैंकर
२०६१ सालमा ज्ञवालीले बिहे गर्दा सुन तोलाको ९ हजार रूपैयाँ थियो। उनले बिहेमा एक तोला सुन मात्रै किनेको र पूरै बिहे खर्च जम्मा ३० हजार रूपैयाँ भएको बताए।
'सिएको पढाइ सकेर बिहे गरिएको थियो,' उनले भने।
—दीपक विष्ट, तेक्वान्दो प्रशिक्षक
विस्टले २०६८ सालमा बिहे गर्दा सुन तोलाको ३० हजार रूपैयाँ थियो। केही तोला सुन किनेका उनी अहिलेको भाउ सुनेर अचम्म परे।
‘ओहो, सुनको तोलामै एक लाख ५० हजार पुगिसक्यो! मैले त मूल्य हेरेकै थिइनँ,' उनले भने।