केही समययता हिराका गहना लगाउनेहरूको जमात बढ्दो छ। धनाढ्यदेखि उच्च मध्यम वर्गीयहरूको रोजाइमा हिराका गहना पर्न थालेको छ।
व्यवसायीहरूका अनुसार फुली, औंठी, हार, टप, झुम्का नेकलेस लगायत हिराका गहनाको बिक्री राम्रो छ। अघिल्लो स्टोरीमा हामीले हिराको गहना कसरी छान्ने र के के हेर्ने भन्नेबारे लेखेका थियौं।
यसपटक भने यसरी किनेका हिराका गहना आवश्यक परे कसरी बेच्ने भन्नेबारे बताएका छौं।
सुन र चाँदीका गरगहना बनाउँदा लागेको लागत, ज्याला र जर्तिसहितको बिल व्यापारीले ग्राहकलाई दिन्छन्। ती गहना बिलकै आधारमा ग्राहकबाट व्यवसायीलाई बिक्री गर्न सकिन्छ। सुन र चाँदीका गहना जुनसुकै ठाउँका सुन पसलहरूमा सजिलै बिक्री हुन्छ।
तर हिराका गहना बिक्री गर्न यति सजिलो छैन।
विगतमा हिराका गहनाहरू कम मानिसले मात्र बनाउँथे। धेरै जसोले हिरा बेच्दैन पनि थिए। तर केही वर्षयता फेसन/ट्रेन्ड अनुसार हिराका गहना बनाउन थालेका छन्। जसकारण किनबेच पनि बढेको व्यवसायीहरू बताउँछन्।
'हिरा लक्जरियस मानिन्छ। मानिसहरूले बेच्ने सोचले बनाएका हुँदैनन्,' सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्य भन्छन्, 'तर केही वर्षयता ट्रेन्डअनुसार नयाँ डिजाइन बनाउन पुराना गहना बिक्री गर्न थालेका छन्।'
हिराको गहना बिक्री हुन्छ समय लाग्ने उनी बताउँछन्।
उनका अनुसार सामान्यत: हिराको मूल्य पाँच वर्षमा परिवर्तन हुन्छ। यसरी कुनै पनि ग्राहकले हिराको गहना बनाएपछि पाँच वर्षसम्म बिक्री गर्न चाहेमा १० प्रतिशत पैसा काटेर ९० प्रतिशत पाउँछन्।
पाँच वर्षपछि बिक्री गर्न चाहेमा बजारको मूल्य अनुसार यो रकम हेरफेर हुनेछ।
बिक्रीका लागि भने गहना किनेकै पसलमा जानुपर्छ। अन्य पसलमा बिक्री हुँदैन।