केही समययता हिराका गहना लगाउनेहरूको जमात बढ्दो छ। धनाढ्यदेखि उच्च मध्यम वर्गीयहरूको रोजाइमा हिराका गहना पर्न थालेको छ।
व्यवसायीहरूका अनुसार फुली, औंठी, हार, टप, झुम्का नेकलेस लगायत हिराका गहनाको बिक्री राम्रो छ।
बजारमा धेरै ठाउँमा हिरा बिक्री-वितरण हुन्छ। तर कस्तो हिरा किन्ने, कसरी छान्ने जस्ता कुराहरू धेरै ग्राहकलाइ थाहा हुँदैन।
हामीले हिराका गहना व्यवसायीसँग कुराकानी गरेर यसको मूल्य निर्धारण कसरी हुन्छ र गुणस्तरीय हिरा कसरी छान्ने भन्नेबारे जानकारी दिएका छौं।
सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष रेजरत्न शाक्यका अनुसार हिराको मूल्य त्यसको गुणस्तर अनुसार निर्धारण हुन्छ।
यसका लागि मुख्य रूपमा चार 'सी' ख्याल गर्नुपर्छ; कटिङ (काटिएको तरिका), कलर (रङ), क्लियारिटी (पारदर्शिता) र क्यारेट (तौल)।
'यही आधारमा हिराको मूल्य र गुणस्तर तय हुन्छ,' सुनचाँदी व्यवसायी शाक्यले भने।
अब सबभन्दा पहिले कटिङका बारेमा बुझौं। कटिङ भनेको हिरा कसरी काटिएको छ भन्ने हो। कटिङलाइ अन्तर्राष्ट्रिय बजारमा चार प्रकारमा बाँडिएको हुन्छ; गुड, भेरीगुड, आइडियल, एस्टोर आइडियल। यसमध्ये सबभन्दा महँगो एस्टोर आइडियल कटिङ हुन्छ।
शाक्यका अनुसार सामान्य भाषामा बुझ्दा ५६ कोण (मुख) भएको कटिङ उच्चस्तरको मानिन्छ। बिक्रीका लागि राखिएका सबैजसो हिरामा ५६ वटा मुख हुन्छन्।
त्यस्तै बजारमा राउन्ड, प्रिन्सेस, मार्किस, पियर, हर्ट र ओभल आकारको हिरा पाइन्छ। यसमा पनि राउन्ड अर्थात् गोलो राम्रो मानिन्छ।
त्यस्तै हिरा किन्दा ध्यान दिनुपर्ने अर्को कुरा हो रङ।
हिरा हरियो, कालो, निलो, सेतो, गुलाबी र पहेँलो रङमा पाइन्छ।
'यसमध्ये हरियो हिरा राम्रो मानिन्छ। तर, यो पाउन अलि कठिन छ। यसपछि गुलाबी, निलो, सेतो हिरा राम्रो मानिन्छ,' शाक्यले भने, 'हिराको कटिङ अनुसार रङ फरक हुन्छ।'
अहिले हिराको रङलाइ अन्तर्राष्ट्रिय बजारमा डी, इ, एफ, जी, एच, आइ, जे, के, एल, एम, एन हुँदै जेडसम्मको संकेत दिएर छुट्ट्याइन्छ। डीको अर्थ डाइमन्ड हो जसलाइ सबभन्दा गुणस्तरीय मानिन्छ। इ भनेको एक्सिलेन्ट (उत्तम) हो। यी हिरा महँगा पनि हुन्छन्। त्यसपछि आइ, जे र केसम्मका हिरा राम्रा मानिन्छन्। यसैगरी एलपछि क्रमशः गुणस्तर कम हुँदै जान्छ।
ध्यान दिनुपर्ने अर्को कुरा हो पारदर्शिता अर्थात् हिरा कति सफा छ।
जति प्रस्टसँग हिरा टल्किन्छ, त्यति नै राम्रो मानिन्छ। सफाइलाइ पनि सबभन्दा राम्रोका आधारमा क्रमशः इटरनल्ली फ्ललेस (आइएफ), भिभिएस-१ (भेरी भेरी स्लाइट्ली इन्क्लुडेड), भिभिएस-२, भिएस-१ (भेरी स्लाइट्ली इन्क्लुडेड), भिएस-२, एसआइ-१ (स्लाइट्ली इन्क्लुडेड) हुँदै एसआइ-१२ सम्म छुट्ट्याइएको हुन्छ।
यसमध्ये इटरनल्ली फ्ललेस सबभन्दा राम्रो हिरा हो जसमा कुनै दाग हुँदैन र एकदमै चमकदार हुन्छ। यो हिरा बजारमा किन्न पाइँदैन। बजारमा भिभिएस-१ देखिका हिरा पाइने शाक्यले बताए।
'भिभिएस-१ मा आँखाले छुट्ट्याउनै नसकिने मसिना दाग हुन्छन्। भिभिएस-२ मा भने दाग प्रस्ट देखिन्छ,' उनले भने, 'यसकारण सफा हिरा किन्ने हो भने भिभिएस-१ राम्रो मानिन्छ।'
हिरा किन्दा ध्यान दिनुपर्ने चौथो मुख्य कुरा हो क्यारेट। यसलाइ सामान्य भाषामा तौल भनेर बुझ्न सकिन्छ। हिराको क्यारेट जति धेरै भयो, मूल्य उति धेरै हुन्छ। सामान्यतया सानो हिराको थोरै क्यारेट र ठूलोको धेरै हुन्छ। तर यो सधैं लागू हुँदैन। हिरा कसरी र कुन आकारमा कटिङ गरिएको छ भन्ने कुराले फरक पार्छ। जस्तै राम्ररी नकाटिएको हिरा ठूलो देखिन सक्छ तर क्यारेट थोरै हुन सक्छ। त्यस्तै कम क्यारेटको लाम्चो आकारको हिरा गोलो भन्दा ठूलो देखिन सक्छ।
यसरी कटिङ, क्लियारिटी, कलर र क्यारेट अर्थात् चार 'सी' को गुणस्तर राम्रो भएका हिरा महँगो पर्छ।
व्यवसायीहरूका अनुसार अहिले बजारमा प्रति क्यारेट पाँच हजार रूपैयाँदेखि आठ लाख रूपैयाँसम्मको हिरा पाइन्छ। औंठी, टप र नेकलेसको एक सेट पाँच लाख रूपैयाँदेखि पाइन्छ।