नेपाल रत्न तथा आभूषण संघले सुनचाँदी कारोबार गर्ने तीन कम्पनीलाई सदस्यबाट निस्कासन गरेको छ।
संघले संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका नरेन्द्रकुमार गुप्ताले सञ्चालन गरिरहेको श्री रिद्दि सिद्दि ज्वेलर्स प्रा. लि., श्री रिद्धि सिद्धि ज्वेलरी हाउस र श्री ब्लु हर्स ज्वेलर्स प्रा.लिलाई सदस्यबाट निस्कासन गरेको हो।
गुप्ताले संघका संस्थापक अध्यक्ष, अध्यक्ष, निवर्तमान अध्यक्ष, अध्यक्षलगायतका पदाधिकारीहरूविरुद्ध अनर्गल हर्कत गरी संघ विरुद्धको गतिविधिमा संलग्न रहेकोले उनले सञ्चालन गरेका तीन कम्पनीलाई सदस्यबाट हटाउने निर्णय गरेको संघले एक विज्ञप्ति जारी गर्दै बताएको हो।
संघको चैत २२ गते (बिहीबार) बसेको दसौं कार्यसमितिको बैठकको निर्णय अनुसार उक्त कम्पनीहरू साधारण सदस्यता समेत नरहने गरी सदस्य खारेज गरिएको विज्ञप्तिमार्फत् जानकारी दिइएको छ।
गुप्ताले बिना आधार, बिना प्रमाण नेपाल रत्न तथा आभूषण संघको संस्थापक अध्यक्ष, अध्यक्ष, निवर्तमान अध्यक्ष, उपाध्यक्ष लगायत पदाधिकारीहरुको बिरुद्ध अत्यन्त तल्लो स्तरमा पुगी पदीय दायित्व र मर्यादा भुलेर अनर्गल हर्कत गरेको संघले आरोप लगाएको छ।
संघका अध्यक्ष सुमनमान ताम्राकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'अब उप्रान्त नरेन्द्र कुमार गुप्ताले प्रतिनिधित्व गर्दै आउनु भएको श्री रिद्दि सिद्दि ज्वेलर्स प्रा. लि., श्री रिद्धि सिद्धि ज्वेलरी हाउस र श्री ब्लु हर्स ज्वेलर्स प्रा.लि. विशालबजार/चुच्चेपाटीले गरेको कारोबारहरू प्रति यस नेपाल रत्न तथा आभूषण संघ जवाफदेही नरहने ब्यहोरा सम्बन्धित सम्पूर्ण संघ संस्था तथा आम नागरिकहरूलाई जानकारी गराइन्छ।'