सुनको मूल्य ५८ हजारनजिक पुगेको छ। बिहीबार एकै दिन ६ सय रुपैयाँले मूल्य बढेको छ।
अघिल्लो दिन तोलामा ५७ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा यस दिन ५७ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो फाइन गुणस्तरको मूल्य हो। महासंघका अनुसार यो मूल्य करिब ५ महिनायताकै उच्च हो।
यसअघि भदौ २३ प्रतितोला ५७ हजार ८ सयमै सुनको कारोबार भएको थियो। बजारमा सुनको गुणस्तरलाई दुई वर्गमा विभाजन गरेर मूल्य निर्धारण हुने गरेको छ। ९९ दशमलव ९ प्रतिशत शुद्ध सुनलाई फाइन र ९९. ५ प्रतिशत शुद्ध सुनलाई स्टान्डर्ड सुन भनेर व्याख्या गर्ने गरिएको छ।
फाइनकोभन्दा स्टान्डर्डको मूल्य तोलामा ३ सय रुपैयाँ सस्तो पर्दछ। चाँदीको मूल्य पनि एकै दिन तोलामा १५ रुपैयाँले बढेको छ। अघिल्लो दिन प्रतितोला ७५० कायम भएको चाँदीको मूल्य आज ७६५ पुगेको महासंघले जनाएको छ।