बोल्न र सुन्न नसक्ने व्यक्तिहरुका लागि नेपाल टेलिकमले सहुलियत दरमा उपलब्ध गराएको भिडियो कल सेवा एक वर्षको अवधिमा ७ हजार ८४ जनाले उपभोग गरेका छन्। कम्पनीले गत बर्षको असार ३१ देखि सहुलियत दरमा यो सेवा उपलब्ध गराएको थियो।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बोल्न र सुन्न नसक्ने व्यक्तिहरुका लागि सहुलियत दरमा भिडियो कल तथा एसएमएस सेवा सुरु गरिएको टेलिकमले जनाएको छ।
टेलिकमको मोबाइल नम्बर (सिम) मा टेलिकमको नेटवर्क भित्रको लागि मात्र उपलब्ध यो सेवाको महसुल प्रतिमिनेट ५० पैसा (करबाहेक) तोकिएकोमा २०७० माघ देखि एसएमएसको शुल्क प्रति एसएमएस २० पैसा (करबाहेक) का दरले तोकिएको छ।
यो सेवा लिनका लागि शारीरिक अपाङ्गता भएका व्यक्तिहरुले महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, समाज कल्याण परिषदबाट जारी भएको परिचय पत्र (रातो कार्ड) सहित एकप्रति फोटो र आफ्नो नागरिकताको प्रतिलिपि पेश गर्नुपर्नेछ। यी सबै सेवाका लागि आफूलाई पायक पर्ने नेपाल टेलिकमको काउन्टरमा सम्पर्क राख्न सकिने कम्पनीले जनाएको छ।