एआईका कारण विश्वसनीयता घटेपछि कर्मचारी नियुक्त गर्दा प्रत्यक्ष अन्तर्वार्ता लिन सकिने संकेत गुगलले दिएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाईले भर्चुअल नियुक्ती प्रक्रियामा एआईको प्रयोगले ठगी बढेको र विश्वसनीयता घटेको उल्लेख गर्दै यस्तो जानकारी दिएका हुन्। महामारीको समयमा अपनाइएको अप्रत्यक्ष वा भर्चुअल अन्तर्वार्ता लिने अभ्यासमा परिवर्तन गर्न लागिएको हो।
गुगलका कर्मचारीहरूसँगको छलफलमा केहीले प्रत्यक्ष अन्तर्वार्ता लिनुपर्ने सुझाव दिएका थिए।
गुगलको कर्मचारी भर्ना विभागका उपाध्यक्ष ब्रायन ओङले भर्चुअल अन्तर्वार्ताले चुनौती थपिएको स्वीकार्दै भने, ‘हामीले अब अन्तर्वार्ताको क्रममा एआईको प्रभावकारी प्रयोग कसरी गर्ने भन्नेमा अझ धेरै काम गर्नुपर्ने छ। भर्चुअल अन्तर्वार्ता प्रक्रिया व्यक्ति उपस्थित भएर गरिने अन्तर्वार्ताभन्दा दुई हप्ता छिटो भए पनि, कम्पनीले दक्षता र विश्वासिलाई सन्तुलन गर्नुपर्ने छ।’
प्रमुख कार्यकारी अधिकृत पिचाईले भने अन्तर्वार्तामा मिश्रित विधि प्रयोग गर्न सकिने बताएका छन्।