विश्वमै पहिलो पटक ४० खर्ब डलर बजार पुँजीकरण भएको कम्पनी बनेको एनभिडियाको सेयर मूल्य घट्न थालेको छ।
प्रविधि क्षेत्रका, विशेष गरी एआइ–सम्बन्धी कम्पनीहरूको सेयरमा व्यापक बिक्री देखिएपछि मूल्य घट्न थालेको हो।
एनभिडियासहित एएमडी, मेटा, प्यालान्टिर जस्ता कम्पनीहरूको मूल्य घटेपछि धेरैले बजारमा ‘एआइ बबल’ समाप्त हुने अड्कलबाजी गर्न थालेका छन्।
ओपनएआईका सीईओले समेत एआइ बजार हाल ‘बबल’ अवस्थामा रहेको भन्दै धेरै लगानीकर्तालाई ठूलो घाटा हुन सक्ने चेतावनी दिएका छन्।
यसैबीच, एनभिडियाले चीनका लागि विशेष रूपमा विकास गरेको एच–२० एआइ चिपको उत्पादन रोक्ने निर्देशन पाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अमेरिकी नीतिगत दबाबका कारण निर्यात प्रक्रियामा अनिश्चितता बढेको र चीन सरकारले आफ्ना कम्पनीहरूलाई उक्त चिप खरिद गर्न दबाब दिएको बताइएपछि बजारमा एनभिडियाको स्थितिमा थप अप्ठ्यारो पर्ने मानिएको छ। यही कारण पनि कम्पनीको सेयर मूल्य घट्न थालेको हो।
वाल स्ट्रिटका केही विश्लेषकहरूले एनभिडियाको सेयर मूल्यको प्रक्षेपण घटाएका छन्। केही विश्लेषकले भने यसलाई दीर्घकालीन अवसर भएकोले सेयर किन्न सकिने बताएका छन्।
एनभिडियाको सेयर मूल्य एक सय ८४ डलरसम्म पुगेकोमा हाल करिब एक सय ७५ डलरमा कारोबार भइरहेको छ। कम्पनीको मूल्य करिब ४.८९ प्रतिशतसम्म घटेको हो।
सेयर मूल्य घटेपनि, सबैभन्दा धेरै पुँजीकरण भएको कम्पनीको रूपमा यसले आफ्नो स्थान सुरक्षित नै राखिरहेको छ। कम्पनीको करिब ४० खर्ब डलर बराबर बजार पुँजीकरण छ।