एनभिडिया कर्प विश्वमै पहिलो पटक ४० खर्ब डलर बजार पुँजीकरण भएको कम्पनी भनेको छ। सेयर बजारमा यो नयाँ इतिहास मात्रै बनेको छैन, यो सबैभन्दा महँगो कम्पनी समेत बनेको छ।
एनभिडिया एक अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी हो। यो कम्पनीले ग्राफिक्स प्रोसेसिङ युनिट र कृत्रिम बौद्धिकता (एआई) प्रविधिको विकास गर्छ।
बुधबार कम्पनीको सेयर मूल्य २.८ प्रतिशतले बढेर प्रति सेयर एक सय ६४ अमेरिकी डलर पुगेको थियो। योसँगै एनभिडियाको बजार मूल्यले समेत यो ऐतिहासिक उचाइ छोएको थियो। एआई चिप डिजाइनमा अग्रणी मानिने एनभिडिया पछिल्ला वर्षहरूमा वाल स्ट्रिटको मनपर्ने लगानी गन्तव्य समेत बन्न पुगेको छ।
२०२३ को जुनमा एनभिडियाको बजार पुँजीकरण पहिलो पटक १० खर्ब डलर पुगेको थियो। र, करिब एक वर्षमै त्यसमा तीन गुणा वृद्धि भएर ३० खर्ब डलर माथिको कम्पनी बनेको हो। एप्पल र माइक्रोसफ्टजस्ता ठूला टेक कम्पनीलाई समेत पछि पार्दै एनभिडियाले यो उपलब्धि पाएको हो।
हाल माइक्रोसफ्ट ३७ खर्ब डलर बजार पुँजीकरण सहित दोस्रो स्थानमा छ।
एसएण्डपी ५०० इन्डेक्समा गणना हुने कम्पनीमा एनभिडियाको मात्रै ७.३५ प्रतिशत हिस्सा छ। एप्पलको करिब ७ प्रतिशत र माइक्रोसफ्टको ६ प्रतिशतभन्दा हिस्सा छ।
यो कम्पनीको बजार पुँजीकरण अहिले युकेको सेयर बजारको कुल पुँजीकरणभन्दा धेरै रोयटर्सको समाचारमा उल्लेख छ।
यसअघि अप्रिलमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ सम्बन्धी अभिव्यक्तिले बजारमा अस्थिरता ल्याउँदा एनभिडियाको सेयरमा गिरावट आएको थियो।
पहिलो त्रैमासमा एनभिडियाको आम्दानी गत वर्षको यही अवधिको तुलनामा ६९ प्रतिशतले बढेर ४४ अर्ब डलर पुगेको थियो। दोस्रो त्रैमासमा पनि कम्पनीले करिब ४५ अर्ब डलर आम्दानी गर्ने प्रक्षेपण सार्वजनिक गरेको छ।