विश्व स्मार्टफोन बजारमा अग्रपंक्तिमा रहेको सामसङ नेपालमा पनि रूचाइएको ब्रान्ड हो।
सामसङ नेपालले बारफोनदेखि फ्ल्यागसिप फोनका साथै एयरबड्स, स्मार्टवाच, टिभीलगायत अन्य इलेक्ट्रोनिक सामग्री पनि ल्याएको छ।
कम्पनीले वर्षमा दुई पटक फ्ल्यागसिप फोन सार्वजनिक गर्दै आएको छः ती एस र फोल्ड सिरिज हुन्।
भर्खरै मात्र सामसङले एस सिरिज अन्तगर्त एस–२५, एस–२५ प्लस र एस–२५ अल्ट्रा सार्वजनिक गरेको छ।
यी फोनको विशेषता, फोनबाट गरिएको अपेक्षा, चुनौती, आगामी योजना लगायत सन्दर्भमा सामसङ नेपालका प्रमुख प्रणयरत्न स्थापितसँग गरिएको कुराकानीको सम्पादित अंशः
सामसङले भर्खरै एस–२५ सिरिज सार्वजनिक गरेको छ। यी फोनबाट कम्पनीको बजार अपेक्षा के छ?
ग्राहकले राम्रो फोन रूचाउने भएकाले हामी यो सिरिजलाई लिएर आशावादी छौं। अहिलेको अवस्थामा मोबाइल फोन अत्यावश्यक वस्तु भइसक्यो। फोन सञ्चारको साधन मात्र नभएर मानिसको दैनिकीसँग पनि जोडिएको छ। कार्यालयको अधिकांश काम गर्न पनि फोनले सघाउँछ। प्रविधिलाई अपग्रेडले गरिएकाले यो फोन ग्राहकको रोजाइमा पर्छ भन्ने आशा छ।
अहिले एआईको प्रयोग बढ्दै गएको छ। सामसङ ग्यालेक्सीले कसरी आफ्ना उत्पादनमा प्रयोग गर्ने रणनीति बनाएको छ?
सामसङले एस–२४ सिरिजबाट स्मार्टफोनमा एआई फिचर राखेको हो। हामीले अहिले एस–२५ सिरिजमा उक्त फिचरलाई अपग्रेड गरेर राखेका छौं। जुन साधारण फोनबाट सम्भव नहुने काम अब एआई इनेबल फोनबाट सम्भव हुन्छ। अहिले कम्पनीले आफ्ना उत्पादनमा एआई फिचरलाई विशेष प्राथमिकतामा दिएको छ।
नेपाली बजारमा फ्ल्यागसिप फोनको माग कस्तो छ? फोनले कस्तो प्रतिक्रिया पाइरहेको छ?
प्रविधिको युगसँगै मानिसहरू पनि बदलिएका छन्। सामान्य स्मार्टफोनले अहिले हामीले सोचेजस्तो काम गर्न सक्दैन।
त्यसैले फ्ल्यागसिप फोन प्रयोगकर्ता बढ्दो क्रममा छन्। नेपाली बजारमा मूल्यको तुलनामा फ्ल्यागसिप फोनको हिस्सा २० प्रतिशत छ र यो क्रम अझै बढ्दो क्रममा छ। फ्ल्यागसिप फोनमा फाइनान्सिङ सुविधा दिएकाले प्रयोगकर्ता बढेका छन्। ग्राहकबाट पनि राम्रो प्रतिक्रिया पाइरहेका छौं।
यो फोनको विशेष प्रयोग के हो? कस्ता ग्राहकलाई लक्षित गरिएको छ?
मोबाइलको प्रयोग धेरै काममा हुन्छ। फोटोग्राफी, गेम खेल्न, फिल्म हेर्नदेखि लिएर पछिल्लो समय कार्यालयका काम गर्न समेत फोन प्रयोग हुने गरेका छन्। यो फोन विशेषगरी जसलाई आफ्नो कामको उत्पादकत्व बढाउनु छ, उनीहरूका लागि हो। किनभने यस फोनमा एआईका माध्यमबाट धेरै काम सहज रूपमा गर्न सकिन्छ। व्यक्तिले इफोर्ट लगाउने ठाउँमा एआईले सघाउँछ।
यो फोनमा स्न्यापड्रागन ८ एलिट प्रोसेसर छ जसले गेम खेल्दा, एपहरू चलाउँदा ह्याङ हुँदैन। फोनमा ४० प्रतिशत भेपर चेम्बर लगाइएकोले फोन तात्ने समस्या पनि हुँदैन। यसमा कर्निङगोरिल्ला ग्लास राखिएकाले टुटफुटबाट बचाउँछ। सात वर्षसम्म सेक्युरिटी अपडेट र सफ्टवेयर अपडेट हुने भएकाले लामो समयसम्म नयाँ फोनले जस्तै काम गर्छ।
यसमा क्यामरा पनि अप्रग्रेड गरिएको छ। फोटो, भिडिओमा काम गर्नेका लागि यो फोन उपयुक्त हुन्छ। किनभने क्यामरामा पनि एआई फिचर राखिएको छ। जसले गर्दा फोटो खिच्दा समूहमा कसैले आँखा चिम्लिएको छ भने फोनले नै आँखा खोलेको फोटो राख्न सुझाउँछ। त्यस्तै, भिडिओ खिच्दा पनि ब्याक ग्राउन्ड साउन्डलाई सजिलै फोनबाटै हटाउन सकिन्छ।
यो फ्ल्यागसिप फोन नयाँ प्रविधिका सामान चलाउन चाहनेका लागि उपयुक्त हुन्छ। यो सबै वर्गका ग्राहकलाई सुहाउँदो छ। एस सिरिजका छुट्टै पारखीहरू छन्। विशेषगरी उनीहरूलाई नै लक्षित गरिएको छ।
फोनको मुख्य विशेषता के–के हुन्, मूल्य कति पर्छ?
एस–२५
–डिस्प्लेः ६.२ इञ्च
–फोनमा फोनको पछाडि भागमा तीन वटा क्यामरा, जसमा मुख्य क्यामरा ५० मेगापिक्सल, १० मेगापिक्सल टेलिफोटो र १२ मेगापिक्सल अल्ट्रावाइड क्यामरा छ।
–सेल्फी लिनको लागि १२ मेगापिक्सेल वाइड क्यामरा
–फोनको सुरक्षाको लागि फिंगरप्रिन्ट सुविधा
–४ हजार एमएएच ब्याट्री क्षमता
–या १२ जिबी/२५६ जिबी र १२ जिबी/१२८ जिबी क्षमता किन्न पाइनेछ।
–फोनको मूल्य क्रमशः एक लाख १४ हजार ९९९ रूपैयाँ र एक लाख ४ हजार ९९९ रूपैयाँ हुनेछ।
–आइसी ब्लू (निलो) र सिल्भर स्याडो गरी दुई रंगमा उपलब्ध
एस–२५ प्लस
–६.७ इन्च डिस्प्ले
–फोनको पछाडि भागमा तीन वटा क्यामरा जसमा मुख्य क्यामरा ५० मेगापिक्सल, १० मेगापिक्सल टेलिफोटो र १२ मेगापिक्सल अल्ट्रावाइड क्यामरा छ।
–सेल्फी लिनको लागि १२ मेगापिक्सल वाइड क्यामरा
–फोनको सुरक्षाको लागि फिंगरप्रिन्ट सुविधा
–४ हजार ९ सय एमएएच ब्याट्री क्षमता
– स्टोरेज १२ जिबी/२५६ जिबी
–मूल्य एक लाख ४१ हजार ९९९ रूपैयाँ
–नेभी र सिल्भर स्याडो गरी दुई रंगमा उपलब्ध
एस–२५ अल्ट्रा
–६.९ इञ्च डिस्प्ले
–फोनको पछाडि भागमा चार वटा क्यामरा जसमा मुख्य क्यामरा २०० मेगापिक्सल, ५० मेगापिक्सल पेरिस्कोप टेलिफोटो, १० मेगापिक्सल टेलिफोटो र ५० मेगापिक्सल अल्ट्रावाइड क्यामरा
–सेल्फी लिनको लागि १२ मेगापिक्सेल वाइड क्यामरा
–फोनको सुरक्षाको लागि फिंगरप्रिन्ट सुविधा
– पाँच हजार एमएएच ब्याट्री क्षमता
– स्टोरेज क्षमता १२ जिबी/५१२ जिबी र १२/२५६ जिबी
–मूल्य क्रमशः एक लाख ९९ हजार ९९९ रूपैयाँ र एक लाख ८४ हजार ९९९ रूपैयाँ
–टाइटानियम सिल्भर ब्लू (निलो), टाइटानियम ह्वाइटसिल्भर र टाइटानियम ब्ल्याक (कालो) रंगमा उपलब्ध
तीन मोडलमध्ये सबभन्दा बढी रूचाइएको मोडल कुन हो?
२०० मेगापिक्सल क्यामरा र स्टोरेज क्षमता बढी भएकाले एस–२५ अल्ट्रामा ग्राहकको बढी रूचि देखिन्छ।
यो फोन किस्ताबन्दीमा कसरी किन्न पाइन्छ?
यो फ्ल्यागसिप फोन हो। महँगो फोन भएकाले सबैलाई एकैपटक एकमुस्ट पैसा तिरेर किन्न सहज हुँदैन। त्यसैलाई मध्यनजर गरेर हामीले शून्य प्रतिशत ब्याजदरमा इएमआई सुविधा दिएका छौं। जसमा ग्राहकले ४० प्रतिशत डाउनपेमेन्ट गरे पुग्छ।
सामसङको जुनसुकै आउटलेटबाट यो सुविधा लिन सक्छन्। त्यस्तै, एक वर्षभित्र टुटफुट भयो भने कम्पनीले बिना शुल्क एक–पटकको लागि बनाइदिन्छ।