त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुयुरोम सेवा औपचारिक रुपमा सुचारु भएको छ। एक साताअघि अन्तर्राष्ट्रिय टर्मिनलमा सूरु भएकोमा बुधबारदेखि अन्तरिक टर्मिनलमा पनि सेवा सुरु भएको छ।
यो सेवा विश्वविद्यालय, वैज्ञानिक अनुसन्धान सम्बन्धि संस्था, विद्यार्थीलाई शैक्षिक संस्थाबाट अर्को ठाउँमा पुग्दा आफ्नो शैक्षिक संस्थाको युजरनेम तथा पासवर्डबाट इन्टरनेट पहुँच स्थापना गरिदिने सेवा हो।
हाल विश्वका ११० भन्दा बढी देशका इडुयुरोम सेवा उपलब्ध छ। विश्वभर लाखौँ इडुयुरोम हटस्पट सञ्चालनमा आइरहेका छन्।
यस्ता सेवा सम्बन्धी हटस्पटको विस्तार लाइब्रेरी, म्युजियम, सार्वजनिक स्थान, रेलवे स्टेसन, एयरपोर्ट तथा कफी शपहरूमा भइरहेको छ। यो सेवा संसारभर पूर्णरुपमा निःशुल्क रूपमा उपलब्ध रहेको छ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल तथा अन्तरिक टर्मिनलभित्र जडान गरिएका ६० वटा भन्दा बढी एसेस प्वाइन्टबाट इडुयुरोमको सेवाको पहुँच एकसाथ गर्न सकिने छ।
यो विश्वभरका रोमिङ पहुँचबाट संचालन हुन्छ र रेडियस सर्भरमार्फत सुरक्षित कनेक्सन गर्दै सेवा रुपमा प्रदान गर्दछ।