इन्टरनेट सेवा प्रदायकहरूले मर्मत तथा सम्भार (सपोर्ट र मेन्टिनेन्स) दूरसञ्चार सेवाभित्र नपर्ने दाबी गरेका छन्।
सेवा प्रदायकहरूको तर्फबाट छाता संगठन इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आइस्पान) ले एक विज्ञप्ति जारी गर्दै सपोर्ट र मेन्टिनेन्स दूरसञ्चार सेवामा नपर्ने बताएको हो।
संशोधित दूरसञ्चार नियमावली र आर्थिक ऐनले गरेको व्यवस्था अनुसार इन्टरनेट र मर्मत सम्भारको छुट्टै बिजक जारी गर्दै आएको आइस्पानले जनाएको छ।
मर्मत सम्भार शीर्षक अन्तर्गतको बेरूजु बक्यौता असुल उपर गर्ने विषयमा वर्षौंदेखि इन्टरनेट सेवा प्रदायकहरू र नियामक नेपाल दूरसञ्चार प्राधिकरणबीच विवाद छ। सेवा प्रदायकहरूले मर्मत सम्भार गैरदूरसञ्चार सेवा भएको दाबी गर्दै आएका छन्।
यसबारे कुनै बेरूजू नरहेको अडान उनीहरूको छ।
ग्राहकबाट लिइएको शुल्कको सम्बन्धमा सो शुल्कको आरटिडिएफ तथा रोयल्टी इन्टरनेट सेवा प्रदायकले नियम बमोजिम नेपाल सरकारलाई तिरिरहेको उनीहरूको भनाइ छ।
सपोर्ट र मेन्टिनेन्सको हकमा कुनै पनि सेवा प्रदायकले आरटिडिएफ तथा रोयल्टी प्रयोजनका लागि शुल्क नलिएको विज्ञप्तिमा भनिएको छ।
'मन्त्रीस्तरीय निर्णय बमोजिम २०७६ साउन १५ गते राजपत्रमा प्रकाशित दूरसञ्चार नियमावली २०५४ को नियम १५ मा संशोधन गरी दूरसञ्चार सेवा अन्तर्गतका फिक्स्ड वायर्ड ब्रोडब्यान्ड सेवा प्रदान गरेबापत लाग्ने महसुलमा बढीमा ५० प्रतिशतसम्म मर्मत सम्भार शुल्क लगाउन सक्नेछ भन्ने व्यवस्था गरिएको छ,' विज्ञप्तिमा भनिएको छ।
दूरसञ्चार ऐन २०५३ को २ (घ) ले व्यवस्था दूरसञ्चार सेवाको परिभाषा गरेको र कहीँ कतै पनि मर्मत तथा सम्भार दूरसञ्चार सेवाभित्र नपर्ने जिकिर उनीहरूको छ।
मर्मत तथा सम्भार शीर्षक गैरदूरसञ्चार सेवा रहेको र यसमा रोयल्टी नलाग्ने आइस्पानले उल्लेख गरेको छ।