नेपाल टेलिकमले दूरसञ्चार कार्यालय सुन्धाराको क्षेत्राधिकार भित्र पर्ने सम्पूर्ण स्थानहरूमा सञ्चालित पुरानो कपर प्रविधिमा आधारित आधारभूत टेलिफोन (पिएसटिएन) सेवालाई फाइबर टू दी होम (एफटिटिएच) प्रविधिमा स्तरोन्नति गरेको छ।
बिहीबार सुन्धारामा आयोजित एक कार्यक्रममा प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले कपर प्रविधिको टेलिफोन सेवाको स्विच अफ गरी यो सेवा बन्द गरेकी हुन्।
कपर प्रविधिबाट वितरित टेलिफोन तथा एडिएसएल लाइनहरू पूर्ण रूपमा आधुनिक फाइबर प्रविधिको नेटवर्कमा माइग्रेसन कार्य सम्पन्न गरी कपर नेटवर्क बन्द गरिएको हो।
उक्त कार्यक्रममा प्रबन्ध निर्देशक पहाडीले टेलिकम क्षेत्रमा प्रविधि रूपान्तरण आवश्यक रहेकोले त्यसैको निरन्तरता तथा समयको माग अनुरुप पुरानो कपर प्रविधिलाई आधुनिक फाइबर प्रविधिमा रूपान्तरण गरिएकोमा खुसी व्यक्त गरिन्।
एफटिटिएच प्रविधिमा माइग्रेसन भइसकेपछि ग्राहकले अत्याधुनिक प्रविधिको एनटी फाइबरमार्फत् एउटै तारबाट तीव्र गतिको इन्टरनेट, टेलिफोन र टेलिभिजन सेवा समेत प्राप्त गर्न सक्ने भएकोले यो सेवा ग्राहकहरूका लागि फलदायी हुने विश्वास कम्पनीको रहेको छ।