हेल्थ टेक कम्पनी न्युरालिंकले दिमागमा चिप प्रत्यारोपण गरिएको पहिलो व्यक्तिको भिडिओ सार्वजनिक गरेको छ।
कम्पनीले बिहीबार नोल्यान्ड आर्बार (जसको दिमागमा पहिलो पटक चिप प्रत्यारोपण गरिएको थियो) ले कम्प्युटर चलाउँदै गरेको भिडिओ सार्वनजिक गरेको हो।
न्युरालिंकका एक इन्जिनियर ब्लिसले नोल्यान्डले कम्प्युटरमा चेस गेम खेलिरहेको भिडिओ खिचेर कम्पनीको आधिकारिक एक्स खाताबाट अपलोड गरेका छन्।
२९ वर्षीय नोल्यान्ड करिब ८ वर्ष अघि डाइभ गर्ने क्रममा दुर्घटनामा परे। दुर्घटनापछि उनको घाँटीभन्दा तलको भाग पक्षघात भयो। पक्षघातपछि दिमाग सक्रिय रहे पनि उनलाई अतिरिक्त अन्य क्रियाकलाप गर्न कठिन भयो।
न्युरालिंकको चिप प्रत्यारोपणपछि भने नोल्यान्डले दिमागको कन्ट्रोलबाट विभिन्न क्रियाकलाप गर्न सकेको बताएका छन्। भिडिओमा उनले आफूलाई चेस खेल्न मन लाग्ने बताउँदै चिप प्रत्यारोपणपछि दिमागको कन्ट्रोबाटै चेस खेल्न सकेको बताएका छन्।
'मलाई चेस खेल्न मन पर्छ। तर पछिल्ला केही वर्षमा चेस खेल्न कठिन थियो। माउथ स्टिकको प्रयोगमा चेस खेल्ने गर्थेँ,' नोल्यान्डले भनेका छन्, 'अहिले म दिमागको कन्ट्रोलबाटै कम्प्युटरमा कर्सर चलाउन सक्छु। चेस खेल्न निकै सजिलो भएको छ। अरू खेलहरू पनि म घन्टौंसम्म खेल्न सक्छु।'
भिडिओमा नोल्यान्डले दिमागको कन्ट्रोलबाटै ब्यागग्राउन्डमा बजिरहेको गीत बन्द गरेका छन्। यसबाहेक उनले आफ्नो अनुभवहरू बताएका छन्। दिमागको कन्ट्रोलबाट विभिन्न क्रियाकलापहरू गर्न सकेको, कम्प्युटर गेमहरू खेल्न सजिलो भएको, भाषाहरू सिकिरहेको जस्ता अनुभव बताएका छन्।
नोल्यान्डले चिप प्रत्यारोपण प्रक्रिया सहज भएको र प्रत्यारोपण पछि कुनै जटिलता नआएको पनि भिडिओमा बताएका छन्।
न्युरालिंकले गत जनवरीमा मात्रै पहिलो पटक मानव मस्तिष्कमा सफलतापूर्वक चिप प्रत्यारोपण गरेको घोषणा गरेको थियो। कम्पनीले गत वर्ष मानिसको मस्तिष्कमा चिप प्रत्यारोपण गर्न खाद्य तथा औषधि प्रशासन (एफडिए) बाट स्वीकृति पाएको थियो।
सन् २०१६ मा सञ्चालित न्युरालिंक एक हेल्थ (स्वास्थसम्बन्धी) टेक कम्पनी हो। मानिसको मस्तिष्कमा चिप प्रत्यारोपण गर्नु यसको मुख्य उद्देश्य हो। कम्पनीका अनुसार मस्तिष्कको क्षेत्रमा ब्रेन-कम्प्युटर इन्टरफेस (बिसिआई) प्रत्यारोपणका लागि रोबोटको प्रयोग गर्छ। मानिसहरूलाई आफ्नो विचार कै भरमा कम्प्युटर कर्सर वा किबोर्ड नियन्त्रण गर्न सक्षम पार्नु यसको प्रारम्भिक लक्ष्य हो।
न्युरालिंकको पहिलो उत्पादन 'टेलिप्याथी' हो। 'टेलिप्याथी' एक वायरलेस ब्रेन चिप (कुनै पनि तारबिनाको मस्तिष्कमा राख्न तयार पारिएको चिप) हो। यही चिप नोल्यान्डको दिमागमा प्रत्यारोपण गरिएको हो।
न्युरालिंकका अनुसार कम्पनीले यस्तो मस्तिष्क चिप तयार पारेको जसको प्रयोगमा आँखा नदेख्ने व्यक्तिले आँखा देख्न सक्छन्। त्यस्तै शरीरको कुनै भागहरू नचलेको व्यक्तिले सो भाग चलाउन सक्छन्।
चिपमार्फत् कुनै पनि व्यक्तिको दिमाग कम्प्युटरसँग जोडिन्छ। र, यसलाई कम्प्युटर वा मोबाइल फोनबाट कन्ट्रोल गर्न सकिन्छ।