यतिबेला राष्ट्रिय परिचयपत्र कार्डको छपाइ धमाधम हुँदैछ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले चैतको दोस्रो सातादेखि काठमाडौंसहित १० जिल्लाको कार्ड वडा कार्यालयहरूबाटै वितरण गर्ने तयारी गरिरहँदा कार्ड छपाइले पनि तीव्रता पाएको हो।
विभागका राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका निर्देशक मुकेश कुमार केशरीका अनुसार काठमाडौंको ३२ वटै वडा कार्यालयहरूबाट परिचयपत्र कार्ड वितरण गर्ने गरी तयारी भइरहेको छ। साथै थप ९ जिल्लामा वडास्तरबाट कार्ड वितरणको तालिका तयार हुँदैछ।
वडा कार्यालयहरूबाट कार्ड वितरण गर्दा सेवाग्राहीहरूलाई सहज हुनुका साथै वितरण प्रक्रिया छिटो हुने अपेक्षासहित गत फागुन महिनादेखि नै यो तरिका सुरू गरिएको हो।
विभागले गत फागुन १७ गतेदेखि कञ्चनपुरको वडा कार्यालयहरूबाट कार्ड वितरण थालेको छ।
विभागका निर्देशक केशरीका अनुसार एक लाख ७२ लाख बढी कार्ड यस जिल्लाको वडा कार्यालयहरूबाट वितरण हुँदैछन्।
पछिल्लो समय सर्वसाधारणहरूले कार्ड वितरणमा ढिलाइ भएको गुनासो गरिरहेका छन्। परिचयपत्र कार्ड जिल्ला प्रशासन कार्यालयहरूबाट वितरण हुन्छ। यसरी प्रशासन कार्यालयहरूबाट मात्रै कार्ड वितरण गर्दा समय लाग्ने र सर्वसाधारणहरू कार्ड लिन उपस्थित नहुने समस्या देखिएपछि विभागले वडास्तरबाटै कार्ड वितरण गर्ने योजना बनाएको हो।
तथ्यांकअनुसार गत फागुनको पहिलो सातासम्म राष्ट्रिय परिचयपत्रको लागि एक करोड ४० लाखभन्दा बढी नागरिकले आफ्नो विवरण दर्ता गराएका छन्। यसमध्ये करिब ३० लाख कार्ड छापिसकेका छन्। विभागसँग प्रतिघण्टा १५०० कार्ड छाप्ने क्षमताको मेसिन छ। तर कार्ड छपाइपछि प्रत्येक कार्डको गुणस्तर र छापिएको विवरण जाँच हुन्छ। यसलाई जिल्लाहरूमा पुर्याउन प्याकेजिङ गरिनुपर्छ। यसकारण विभागले अहिले दैनिक एक सिफ्टमा ८ हजार पाँच सय कार्ड छापिरहेको छ। परिचयपत्र छाप्नको लागि ९० लाख बढी कार्ड बाँकी छन्।
विभागले पहिलो चरणमा एक करोड २० लाख कार्ड नेपाल भित्र्याएको थियो। वितरण कार्यलाई गति दिएसँगै विभागले दुई सिफ्टमा कार्ड छाप्ने योजना बनाएको छ। कार्ड छपाइसँगै प्याकेजिङ लगायतका लागि विभागले आवश्यक जनशक्ति खटाउने बताएको छ।
तस्बिरहरू: