अब जन्म दर्ता गर्दा राष्ट्रिय परिचय पत्र नम्बर (एनआइएन) सहितको जन्मदर्ताको प्रमाणपत्र जारी हुने भएको छ।
नेपाली नागरिकका १६ वर्षभन्दा कम उमेरका सन्तानको जन्मदर्ता गर्दा राष्ट्रिय परिचय नम्बर सहितको जन्मदर्ताको प्रमाणपत्र जारी गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले अनलाइन घटना दर्ता प्रणाली सञ्चालन गर्ने सबै स्थानीय तह र नेपाली कुटनीतिक नियोगलाई पत्राचार गरेको हो।
जन्म दर्तासँगै नेपाली नागरिकका १६ वर्षभन्दा कम उमेरका सन्तानको जन्मदर्ताको प्रमाणपत्र संशाेधन तथा प्रतिलिपि जारी गर्दा समेत राष्ट्रिय परिचय नम्बरसहितको संशाेधन तथा प्रतिलिपि प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था गर्न निर्देशन दिएको छ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ को दफा ६ को उपदफा (३) मा नेपाली नागरिकका सन्तानको जन्मदर्ता गर्दाको बखत स्थानीय पञ्जीकाधिकारीले विभागबाट तोकिएको बमोजिम परिचय नम्बर प्राप्त गरी सम्बन्धित व्यक्तिलाई त्यस्तो परिचय नम्बर प्रदान गर्नुपर्ने व्यवस्था रहेको बताउँदै विभागले फागुन २७ को निर्णयानुसार नेपाली नागरिकका १६ वर्षभन्दा कम उमेरको सन्तानको जन्मदर्ता गर्दा राष्ट्रिय परिचय नम्बरसहितको जन्मदर्ताको प्रमाणपत्र जारी गर्न सम्बन्धित निकायलाई पत्राचार गरेको हो।
कुनै प्राविधिक कारणले जन्मदर्ता गर्दा राष्ट्रिय परिचय नम्बर प्राप्त हुन नसकेमा विभागमा सम्पर्क गरी राष्ट्रिय परिचय नम्बर प्राप्त भएपश्चात् मात्रै प्रमाणपत्र जारी गर्ने व्यवस्था गर्न पनि विभागले अनुरोध गरेको छ।