नेपालको भुक्तानी सेवा सञ्चालक फोनपे र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपिसिआई) को अन्तर्राष्ट्रिय शाखा एनआइपिएलबीच नेपाल–भारत अन्तर्देशकीय क्युआर भुक्तानी सेवा सुरू भएको छ।
दुई कम्पनीबीच युनिफाइड पेमेन्ट इन्टरफेस (युपिआई) सेवा सुरू भएको हो। यस सेवा सुरू गर्ने सम्बन्धमा गत असोजमै सम्झौता भएको थियो।
सम्झौताको पहिलो चरणअनुसार अब भारतीय एनपिसिआई प्रयोगकर्ताले युपिआई इनेबल्ड एपको मद्दतले नेपालमा क्युआर कोडमार्फत फोनपे नेटवर्कमा भुक्तानी गर्न सक्छन्।
यसबारे एनआइपिएलले शुक्रबार एक विज्ञप्ति जारी गर्दै जानकारी गराएको हो।
नेपाल र भारतीय नागरिकबीचको सम्बन्धलाई डिजिटल रूपमा सुदृढ पार्न र व्यक्ति-व्यक्तिबीचको सम्बन्ध विस्तार गर्न यस प्रकारको सेवा सुरू गरिएको हो। एनआइपिएल र फोनपेद्वारा भुक्तानी प्रणालीहरूको एकीकरणले सीमापार लेनदेनको क्षेत्रमा एक क्रान्तिकारी परिवर्तन ल्याएको कम्पनीहरूको विश्वास छ।
यसबारे बोल्दै एनआइपिएलका प्रमुख कार्यकारी अधिकृत ऋतेश शुक्लाले भने, 'फोनपेसँग सहकार्य गर्दै युपिआई पेमेन्टको सुरुआत गर्न पाउँदा निकै हर्षित छौं। यसले दुई देशबीच व्यापारमा नयाँ अवसरहरू सिर्जना गर्दै राष्ट्रबीचको सम्बन्धलाई बलियो बनाउन मद्दत गर्नेमा हाम्रो विश्वास छ।'
उनले यो साझेदारीलाई डिजिटल भुक्तानी क्षेत्रमा बृहत् वित्तीय समावेशीकरण र आर्थिक समृद्धिको उत्प्रेरकको रूपमा परिकल्पना गरेको समेत बताए।
नेपालको तर्फबाट फोनपेका प्रमुख कार्यकारी अधिकृति दिवश कुमारले पनि यो साझेदारीप्रति विश्वास व्यक्त गर्दै यसले दुई देशबीचको आर्थिक सम्बन्ध, वाणिज्य र पर्यटनमा उल्लेखनीय सुधार गर्ने र यसले अन्ततः आर्थिक समृद्धि र प्रगतिलाई बढावा दिनेमा सकारात्मक रहेको बताए।