नेपाल टेलिकमले विदेशमा नेपाल टेलिकमकै सिम प्रयोग गर्ने प्रयोगकर्ताहरूका लागि पहिलेभन्दा सस्तो दरमा डेटा रोमिङ सेवा उपलब्ध गराएको छ।
यसरी विदेशमा भएका नेपाल टेलिकमका प्रयोगकर्ताहरूले रोमिङ सेवा प्रयोग गर्दा सबैभन्दा बढी डेटा रोमिङ सेवा प्रयोग गर्ने गरेको र सेवा सञ्चालनमा रहेको मुलुकमा रहेका रोमिङ पार्टनरहरूसँग गरिएको सम्झौता अनुसार उक्त महसुल दरमा कटौती भएकोले थप सस्तो दररेटमा सेवा सञ्चालन गरिएको कम्पनीको भनाइ छ।
यस अनुसार अब नेपाल टेलिकमको पोस्टपेड तथा प्रिपेड सिम प्रयोगकर्ताहरूले विश्वमा रहेका २८ देशका रोमिङ पार्टनरहरूको नेटवर्कमा आवद्ध भई डेटा रोमिङ सेवा प्रयोग गर्दा सस्तो मूल्यमा डाटा सेवा उपलब्ध हुनेछ।
अब नेपाल टेलिकमकै पोस्टपेड तथा प्रिपेड सिम प्रयोग गरी अस्ट्रिया, बहराइन, बंगलादेश, बेल्जियम, क्यानडा, चीन, ग्रीस, हंगेरी, आयरल्यान्ड, इजरायल, इटाली, जापान र कोरियामा सस्तो दरमा डेटा रोमिङ सेवा उपलब्ध हुनेछ।
त्यसैगरी मलेसिया, म्यानमार, नेदरल्यान्ड, ओमान, पाकिस्तान, फिलिपिन्स, कतार, साउदी अरेयिबा, सिंगापुर, श्रीलंका, स्विजरल्यान्ड, युएई, युके, युएसए र भियतनाममा समेत सस्तो दरमा डेटा रोमिङ सेवा प्रयोग गर्न सकिने छ।
रोमिङ सेवा र यसको महसुल दर बारे लिंक मा हेर्न सकिन्छ ।
डेटा रोमिङ सुविधा प्रयोग गर्नका लागि ग्राहकहरूले अन्तर्राष्ट्रिय रोमिङ सेवा सुरू गरेको हुनुपर्दछ।
पोस्टपेड तथा प्रिपेड ग्राहकहरूले नेपालमै रहँदा आफ्नो मोबाइलबाट *१४१५*७# डायल गरी वा प्रिपेड ग्राहकहरूले नेपाल टेलिकम एपमार्फत् अन्तर्राष्ट्रिय रोमिङ सेवा सुरू गर्न सक्छन्।
परिमार्जित दररेट सस्तो र सुलभ हुने भएकोले रोमिङ सेवा प्रयोगकर्ताहरूका लागि डाटा रोमिङ सेवा उपयोगी हुने र सेवा प्रयोग गर्ने परिपाटीमा वृद्धि हुने अपेक्षा कम्पनीको रहेको छ।