सेलरोटी खान जती मिठो हुन्छ, पकाउन त्यहीकै गाह्रो। अझ होटलमा धेरै पकाउनेहरुले त सोली, कप लगायतको सहायताले पनि पकाउछन्। सोली वा कप बाट पकाउन पनि झण्झटिलो हुन्छ।
यही समस्यालाई मध्यनजर गर्दै राष्ट्रिय आविष्कार केन्द्रले सेलरोटी पकाउने मेसिन बनाउने भएको छ।
केन्द्रमा ६ जाना इन्जिनियरले करिव ३ महिनादेखि सेलरोटी पकाउने मेसिन बनाइरहेको केन्द्रका संस्थापक महाविर पुनले जानकारी दिए।
‘धेरै समय त ‘कन्सेप्ट’ बनाउनै लाग्यो। बल्ल ‘प्रोटोटाइप’ तयार भएको छ। अब १ महिना भित्र मेसिन बन्छ होला,’ पुनले सेतोपाटीसगँ भने।
यो मेसिनले १ मिनेटमा ३० ओटासम्म सेलरोटी पकाउन सक्ने पुनको अनुमान छ।
‘चाडबाडमा सेलरोटीको अत्याधिक माग हुनेरैछ। सेलरोटी पकाउने मेसिन भने बनेकै छैन। यो सफल भयो भने काम छिटो र कम खर्चमा हुन्छ,’उनले भने।
यो सगै हाल केन्द्रमा अरु १६ ओटा काम भइरहेको पुनले जानकारी दिए।