एप्पलले आइफोन टेन (एक्स) को उत्पादन बन्द गर्ने भएको छ। यो वर्ष नयाँ आइफोन ल्याउनुअगावै बन्द गर्ने एप्पल इनसाइडरले जनाएको छ।
गत वर्ष सेप्टेम्बरमा सार्वजनिक गरिएको आइफोन टेन कम्पनीको सबभन्दा महँगो मोडल हो।
सार्वजनिक भएयता यसको बिक्री क्रमशः घट्दै गएको थियो। कम्पनीले आशा गरेबमोजिम बजार विस्तार गर्न नसकेपछि अन्ततः उत्पादन नै बन्द गर्ने तयारी गरेको फोर्ब्सले जनाएको छ।
यसको सट्टामा कम्पनीले यो वर्ष अन्त्यमा दुई नयाँ मोडलका आइफोन ल्याउनेछ। जसको निर्माण आधार आइफोन ८ नै हुनेछ। फोब्र्सका अनुसार ती मोडलमा आइफोन टेनका जस्ता सुविधा भने हुन्नन्। थुप्रै विशेषता कटाएर बल्ल यसको मूल्य कम हुनेछ। त्यसपछि भने एप्पलले कम मूल्यमा नयाँ आइफोनको बजार विस्तार गर्न सक्ने अनुमान छ।
नयाँ मोडलको नाम ‘आइफोन टेन प्लस’ र ‘आइफोन टेन एसइ’ राखिने बताइएको छ। ‘आइफोन टेन प्लस’ मा ६.५ इन्चको ओएलइडी ‘आइफोन टेन एसइ’ मा ६.१ इन्च एलसिडी डिस्प्ले हुनेछ।
हालको आइफोन टेनमा ५.८ इन्च स्क्रिन छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अब आउने मोडलमा आइफोन टेनको जस्तो ‘फेसआइडी’ नहुने बताइएको छ। यो ‘फिचर’ हटाएसँगै कम्पनीले यसको मूल्य कम गर्न सक्नेछ।
योबाहेक कम्पनीले अन्य फिचर पनि हटाउन सक्नेछ। आइफोन टेन बिक्री कम भएपछि कम्पनीले यसको मूल्य कम गर्न धेरै प्रयास गरेको थियो। यति धेरै फिचर दिएर मूल्य कम गर्न नसकेपछि उत्पादन नै बन्द गर्ने तयारी गरेको हो।
फिचर घटाएर ल्याउने फोनले ग्राहक आकर्षित गर्छ–गर्दैन भन्ने कम्पनीलाई अर्को चुनौती थपिएको छ।