सपनाको देश पुग्न मनमायालाई झन्डै डेढ महिना लागेको थियो।
१५ दिन दुबईको एउटा होटलमा बसेर इराकको राजधानी बगदाद पुग्दा खुसीको सीमा थिएन।
जहाजबाट उत्रिने बित्तिकै परिवार सम्झेर लामो सास फेरेकी थिइन्।
'कमाउने ठाउँ पुगेँ भनेर कति ढुक्क लागेको थियो। हुन त अर्काको देश कस्तो पो हो के थाहा? पिर पनि लागिरहेको थियो,' उनले सुनाइन्।
जहाजबाट उत्रिएर बाहिर पुग्दा अनुहारमा पिर र खुसी बरोबर थियो। बाहिर उनलाई लिन एक नेपाली महिला नै आएकी रहिछन्। नेपाली नै भेटेपछि मन ढुक्क भयो। गाडी चढिन्। त्यहाँबाट कता लगियो, मनमायालाई ठाउँ याद छैन। तर कार्यालयसम्म जान ६/७ वटा गाडी फेरेजस्तो लाग्छ।
कार्यालय पुगेपछि उनले श्रीमान श्यामबहादुरलाई पुगेको खबर गरेकी थिइन्।
'नेपाली नै भेटियो। आफ्नै दिदी जस्तै लागेको थियो। यहाँ पुग्दासम्म राम्रै थियो। राम्रो छ भनेर भनिहालेँ तर के हुन्थ्यो,' मनमाया सुनाउँछिन्।
३४ वर्षीया मनमाया पाँच सन्तानकी आमा हुन्। लेखपढ गर्न नजानेकी, नोकरी थिएन। घरधन्दामै व्यस्त हुन्थिन्।
श्याम गाउँमै ज्याला-मजदुरी गर्थे। केही समयअघि मजदुरीकै लागि भारत पुगे। पछिल्लो समय भने ठेक्कापट्टाको काम गर्छन्। तर उनको आम्दानीबाट मात्रै हातमुख जोर्न मुस्किल भयो। छोराछोरीलाई सरकारी विद्यालयमै पढाउन पनि सकस।
बाध्यताले थिचेपछि मनमायाले इराकको बाटो हेरेकी थिइन्। श्याम पायल्सका रोगी भएकाले मनमाया नै घरव्यवहार सहज बनाउन हिँडेकी थिइन्।
देश छाडेदेखि नै मनमायालाई सञ्चो थिएन। दुबईको होटलमा बस्दा यहाँको खानपान र हावापानीले शरीर कमजोर बन्दै गएको थियो।
दुबईको होटलमा दुइटा रोटी खान दिन्थ्यो। कहिलेकाहीँ भात पनि हुन्थ्यो तर अघाउन्जेल हुँदैन थियो।
'खै के मिलेको थिएन, बिरामी पर्न थालेकी थिएँ,' उनले भनिन्।
बिरामी अवस्थामै उनलाई कामका लागि एउटा घरमा पुर्याइयो। मनमाया काम गर्न सक्ने अवस्थामा थिइनन्। भाषा पनि नबुझ्ने। त्यो घरले उनलाई काम दिएन। फेरि एजेन्ट कार्यालयमै फिर्ता भइन्।
एजेन्ट कार्यालयले फेरि उनलाई दोस्रो घरमा काम गर्न पठायो। ती घरका मान्छे उनलाई लिन कार्यालयमै आएका थिए।
मनमायाका अनुसार आएका ती व्यक्तिले उनलाई जबरजस्ती तानेर गाडीमा बस्न लगाए। शरीर जथाभावी छुन थाले। उनले प्रतिकार गरिन्।
'कम्ता डर लागेको थिएन, आफू त्यहाँको भाषा पनि नजान्ने। हाम्रो नेपालमा त यस्तो हुँदैन भन्दै जानीनजानी कसरी नो टच मी भन्न आएछ। चिच्याउँदा चिच्याउँदा बल्लबल्ल छाडिदियो,' उनले भनिन्।
गाडीमा त उनी फुत्किइन्। घर पुगेपछि दुर्व्यवहार दोहोरियो।
'घरभित्र पुर्याएपछि त मलाई जबरजस्ती नराम्रो व्यवहार गर्न खोज्यो,' उनले भनिन्, 'नमान्दा पेस्तोल देखाउँथ्यो। यातना दिन्थ्यो।'
मनमायालाई घरमा थुनेर राखिएको थियो। अर्काको देश, जाने पनि कहाँ? त्यो घरमा तीन दिन उनले कष्टपूर्ण बिताइन्।
त्यसपछि उनले एजेन्टलाई रूँदै फोन गरिन्।
'मलाई यो नर्कबाट निकाल भनेर एजेन्टलाई धेरै हारगुहार गरेँ। काम नगर्ने भए किन आइस् भनेर उल्टै गाली गरिन्। धेरै पटक हारगुहार गरेपछि बल्लबल्ल त्यहाँबाट निकालिदिइन्,' उनले भनिन्।
त्यहाँबाट निस्किएपछि तीन नेपाली एजेन्टले आफूलाई कुटपिट गरेको उनी बताउँछिन्। मुख छाडेर गाली गरे। बसीबसी खान पाउँछु भनेर आएकी भन्दै नालैनालाले हाने।
'घरभित्रको राम्रो काम छ भनेर पो गएको, त्यो नर्कको काम तिनीहरू आफैं गरून्,' मनमायाले आक्रोश पोखिन्।
उनलाई इराकमा घरभित्रको काम; भाँडा माझ्ने, कपडा धुने, सरसफाइ लगायत गर्ने काम भनेर सुनाइएको थियो। कमाइ पनि राम्रो हुने आश्वासन दिइएको थियो। महिनाको ३०० डलर (करिब ३९ हजार नेपाली रूपैयाँ) हुन्छ भनेपछि मनमायालाई केही समय काम गरेर दुःख मेटिन्छ कि भन्ने आश थियो।
इराक जान उनीसँग ५० हजार रूपैयाँ मागिएको थियो। उनका श्रीमान श्यामले जसोतसो ऋणपान गरेर जुटाइदिएका थिए।
तर इराक नेपालमा सुनेजस्तो कहाँ हुनु?
दोस्रो घरबाट फिर्ता भएको केही दिनमा उनलाई तेस्रो घरमा पठाइयो। सरसफाइ, भाँडा माझ्ने, लुगा धुने लगायत काम गर्नुपर्ने थियो। त्यो घरमा पनि आफू दुर्व्यवहारमा परेको उनी बताउँछिन्।
'म भाषा केही नबुझ्ने, खै किन हो उनीहरू काम गर्दा पनि खान दिँदैन थिए। गाली गर्थे, कुट्थे। कति दिन त म ट्वाइलेटको धाराको पानी थापेर खाएर बाँचेँ,' उनले सुनाइन्।
त्यहाँ पनि काम ठीक नभएको गुनासो गर्दै उनले एजेन्टलाई निकाल्न आग्रह गरिन्। आफ्नै देशमा फर्किन्छु, दुःखसुख जे हुन्छ, त्यस्तै बाँच्छु भनेर रोइन्।
'म त अब इराकमै मर्छु होला, बाँचेर फर्किन्नँ होला भन्दै रून्थेँ,' उनले सुनाइन्।
मनमायाका अनुसार त्यहाँ उनी जस्तै अरू थुप्रै नेपाली महिला थिए। कतिपय बाध्य भएर यौनकर्मी बन्नुपरेको उनले बताइन्।
'मलाई जसरी हुन्छ निस्किनु थियो। घरमा पनि फोन गरेर जसरी हुन्छ मलाई निकाल्नु भनेर रून्थेँ। बुढोले पैसा पठाएपछि धन्न फर्काइदियो,' उनले भनिन्।
श्रीमानले चार लाख रूपैयाँ एजेन्टलाई बुझाएपछि उनलाई नेपाल फर्काइएको छ। उनलाई गत पुसमा नेपाल फर्काइएको हो।
'श्रीमती दिनदिनै मलाई बचाउ भन्दै फोन गर्छे। प्रहरीमा गएँ, फर्काउने कुरै गर्दैन। एजेन्टलाई भन्दा पैसा दे अनि फर्काउँछु भन्छ। एउटा घडेरी जोहो गरेको थियो। त्यही बेचेर चार लाख बुझाएँ, श्रीमती ल्याइदियो,' श्यामबहादुरले भने।
उनका अनुसार इराकबाट फर्काउन सुरूमा एजेन्टले पाँच लाख रूपैयाँ लाग्छ भनिरहेका थिए। पछि चार लाखमा मिलाइदिए।
'इराकले भएको एउटा घडेरी पनि सकाइदियो। जे भए पनि श्रीमती सकुशल आई। बाँचे सम्पत्ति त होला नि,' चित्त बुझाउँदै भने।
मनमाया इराक पुगेको तीन महिनापछि फर्किएकी हुन्।
कष्टकर तीन महिना सम्झिँदै उनले भनिन्, 'अर्काको देशमा धेरै दुःख पाइने रहेछ। छोराछोरी पढाउन सकियोस्, अलिअलि उनीहरूको भविष्यका लागि जोहो गर्न सकियोस् भन्ने सोचेको, सोचेजस्तो नहुँदो रहेछ। अब जेजस्तो हुन्छ, यहीँ काम गरेर खाने हो।'
इराक नेपाली श्रमिकहरूका लागि प्रतिबन्धित मुलुक हो। प्रतिबन्धित मुलुक भए पनि एजेन्टहरूले विभिन्न मुलुक ट्रान्जिट बनाएर अवैध प्रक्रियामार्फत् श्रमिकहरू त्यहाँ पुर्याउने गरेको पाइएको छ।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद इराकका अध्यक्ष विनोद श्रेष्ठका अनुसार नेपालबाट त्यहाँका एजेन्ट कम्पनीमा श्रमिक लगिन्छ। एजेन्ट कम्पनीले नै रोजगारदातासम्म श्रमिक पुर्याउँछन्।
श्रमिक पुर्याएबापत एजेन्टलाई रोजगारदाताले करिब आठ लाख रूपैयाँसम्म दिएका हुन्छन्। त्यहाँ पुर्याइसकेका श्रमिक नेपाल फिर्ता पठाउनुपरेको अवस्थामा एजेन्टले फेरि रोजगारदातालाई पैसा बुझाउनुपर्ने हुँदा श्रमिकसँग पैसा असुल्ने गरेको उनको भनाइ छ।
मनमायाको हकमा पनि केही रकम आफन्तसँग र केही रकम नेपाली एजेन्टले त्यहाँको एजेन्टलाई बुझाएर उनलाई फिर्ता पठाइएको उनको भनाइ छ।
'उहाँमाथि कुटपिट भइरहेको र बिरामी पनि हुनुहुन्छ भन्ने थाहा पाएपछि तत्काल फिर्ता ल्याउन एजेन्टलाई आग्रह गरेका थियौं। अनि एजेन्टले आफ्नै कोठामा ल्याएर राखेको थियो,' उनले भने।
श्रेष्ठका अनुसार उनलाई बग्दादकै विभिन्न घरमा काम गर्न पठाइएको थियो। बग्दादबाटै उनलाई फिर्ता पठाइएको हो।
(समाचारमा उल्लिखित इराक पुगेर फर्केकी महिला र उनका श्रीमानको नाम परिवर्तन गरिएको हो।)
पढ्नुस्- 'अब फर्किन सक्दिनँ होला भनेर रोइरहेकी छन् मेरी श्रीमती'