स–साना पहाडको बीच सडकमा हुइँकिँदै गरेको ट्रक। सडक छेउछाउमा हरियाली घाँस। भिडिओमा झट्ट हेर्दा नेपालकै जस्तो लाग्ने यो सडक साउदीको जेद्धास्थित नवरियाको थियो।
सहिदभूमि धनकुटाका सुरेन महराका अनुसार यो सडक छेउ सधैं उनले पठाएको भिडिओमा जस्तै देखिँदैन। केही समयपछि घाँस सुक्छ। अनि रूखो देखिन्छ।
'यो हरियाली त अलि समय मात्रै हो। एक दुई महिनापछि गर्मी चढ्छ। बालुवा तातिन्छ। यो त मरिजान्छ नि!,' उनले भने, 'हाम्रोतिर त गर्मी मौसममा पानी पर्छ। यता त जाडोतिर पानी पर्छ। ठ्याक्कै उल्टो।'
सुरेन जेद्धाको अलजमोमस्थित एक निर्माण कम्पनीमा ट्रक चलाउँछन्।
त्यो कम्पनीबाट बालुवा, गिटी, अलकत्रा लगायत विभिन्न निर्माण सामग्री स्थलसम्म पुर्याउनुपर्छ। धेरै लामो दुरीमा भने पुग्नु पर्दैन। निर्माण स्थल चार–पाँच किलोमिटर पर हुन्छ।
'मैले चलाउने लोकल ट्रक हो। दिनभरमा ८०० किलोमिटर जति कुदिन्छ। कहिले त्योभन्दा थोर पनि कुद्छ,' सुरेनले सुनाए।
सुरेनका अनुसार त्यहाँ सडकअनुसार फरक फरक गतिमा ट्रक चलाउनुपर्छ। बजार क्षेत्र तथा मुख्य सडकतिर चलाउँदा ५० किलोमिटर प्रतिघन्टा गति तोकिएको हुन्छ। बस्ती कम भएको तथा बस्ती नभएको सडकमा सय किलोमिटरसम्म चलाउन सकिन्छ।
उनले चलाउने जस्ता हेभी गाडीका लागि सडक तोकिएको हुन्छ। केही सडकमा बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म हेभी गाडी प्रवेश पाइँदैन। ध्यान दिएर संकेत हेरेर मात्रै चलाउनुपर्छ।
खाडी मुलुक साउदीको तातो हावा, हुन्डरी, त्यहाँका सडक र गल्लीहरू छिचोल्दै सुरेनले ट्रक चलाउन थालेको चार वर्ष भयो। चार वर्षमा उनी त्यहाँका सडक र गल्लीहरूसँग परिचित बनिसकेका छन्।
'सुरूमा त कम्ता गाह्रो हुँदैन थियो। पुरानो गाडी थियो, एसी नभएको। तातो हावाले नराम्ररी पोल्थ्यो,' उनले सुनाए, 'न यहाँको भाषा जानेको न बाटो। लास्टै दुःख पाइयो।'
दुई/तीनपटक जसो त कम्पनीका अरू पुराना साथीहरूले रूट देखाइदिएका थिए। उनीहरू पछिपछि बाटो याद गर्दै सुरेन ट्रक चलाउँथे। त्यसपछि भने एक्लै हिँड्न थाले। बाटो बिर्सिएर समस्यामै भने परेनन्।
'ट्रान्सपोर्ट लाइनमा हो भने त आफ्नै रूटमा हिँड्नुपर्छ। तर ट्रक चलाउँदा भित्री बाटोमा नजान्दा नजान्दै पनि बिस्तारै सिकिँदो रहेछ,' उनले भने।
सुरूका केही दिन ठेगाना पत्ता लगाउन मुस्किल परे पनि केही दिनमा बानी परिहाल्यो। दुई-तीन महिनापछि त उनी त्यहाँका सडक र गल्लीसँग नजिकिए। तर एसीबिनाको गाडी, तातो सडकमा दिनभर कुद्नुपर्ने। खपी नसक्नु हुन्थ्यो।
खलखल पसिना छुट्थ्यो, छिनछिनमा प्यास लागिरहन्थ्यो।
'उकुसमुकुस हुन्थ्यो नि। पानी पिए निद्राले झपक्कै छोप्ने, नपिए घाँटी सुक्ने,' उनले सुनाए।
त्यो रापमा डेढ वर्ष झेल्न उनलाई बडो मुस्किल पर्यो। त्यसपछि साहुले नयाँ ट्रक दिए, एसी भएको। सरर चिसो हावा खाँदै ट्रक चलाउन पाउँदा धेरै राहत भयो।
अहिले त उनले त्यहाँको भाषा पनि जानेका छन्। बाटो पनि थाहा छ।
'एसी गाडी चलाएर हिँड्दा एक हिसाबले परदेशमा पनि गजबै छ नि हौ,' सुरेन गजक्क सुनिए।
सुरेनका अनुसार त्यहाँ पनि नेपालमा जस्तै ठाउँठाउँमा धारा हुन्छन्। ती धारामा चिसो पानी आउँछ। बोतलमा भरेर धित मरून्जेल पिउन पाइन्छ। पैसा तिर्नुपर्दैन। तर त्यो पानी नेपालको जस्तो प्राकृतिक चिसो होइन। कृत्रिम चिसो बनाइएको हुन्छ।
उनले ट्रक चलाउने ठाउँका सबैजसो सडक पक्की छन्। धूलो खेप्नुपर्दैन। खाडीमा हिलोको समस्यै हुँदैन। गर्मी याममा भने असाध्यै हावाहुन्डरी चल्छ। हावाले गर्दा ट्रक गुडाउन पनि अप्ठ्यारो पारिदिन्छ। यस्तो बेला सुरेन ट्रकको गति कम गरेर चलाउँछन्।
'ट्रक नै पल्टाउला जस्तो हुन्डरी चल्छ,' उनले भने, 'त्यस्तो बेला होस पुर्याएर बिस्तारै चलाउनुपर्छ।'
बाटोतिर थुप्रै नेपाली साथीहरू भेटिन्छन्। कोही हिँडिराखेका कोही गाडी बिसाएर सुतेका पनि भेटिन्छन्। पानी, खाजा र खाना खाने ठाउँमा दुःखसुखका कुरा चल्छन्।
साउदीमा ठूलो संख्यामा नेपालीहरू सवारी चलाकका रूपमा कार्यरत छन्। यातायात क्षेत्रमा काम गर्नेहरूले धेरै खट्नुपर्ने उनी बताउँछन्।
'यहाँ धेरै नेपाली दाजुभाइ हुनुहुन्छ तर काम सजिलो भएर होइन। यो खाडीमा धेरै दुःख छ,' उनले भने, 'ट्रान्सपोर्टेसन लाइनका साथीहरू त बल्ल १५ दिनपछि कोठा पुग्छन्। खाजा र खानाको टुंगो छैन। दुई-तीन घन्टा मात्र सुतेर काम गर्नुपर्छ।'
सुरेनलाई त्यस्तो हैरानी छैन। चार वर्षदेखि साउदीमा ट्रक हाँकिरहेका उनी गएदेखि एउटै कम्पनीमा छन्। खाएर, बसेर महिनामा ६० हजार रूपैयाँ बच्छ। कम्पनीमा पुरानो हुँदै गएपछि आम्दानी बढेको उनी बताउँछन्।
'परिवार चलाउन मेरै कमाइले भरथेग गरिरहेको छ,' उनले भने।
परदेशकै कमाइले सहिदभूमी-७ मा उनले नयाँ घर बनाएका छन्। ठूलो छोरा एक कक्षा पढ्छन्, निजी स्कुल हालेका छन्। भर्खर जन्मेका अर्का छोरालाई पनि निजीमै पढाउने सपना छ।
सन्तानलाई राम्रो शिक्षा दिन र घरको आर्थिक अवस्थालाई अलि बलियो बनाउन सुरेनले अझै केही समय साउदीमै बिताउने सोचेका छन्।
'सकिन्जेल त काम गरौं भन्ने छ। अब कम्तीमा आठ वर्ष त गर्छु,' उनले हाँस्दै भने, 'अब चालीस कटेपछि नै गाउँमा रमाउँला। गाउँमै किराना वा केही सामानको पसल राखेर बसौंला भन्ने सोचेको छु।'
कहिलेकाहीँ भने सुरेनलाई फर्किहालौं नलाग्ने होइन तर विगत सम्झेर हिम्मत आउँदैन।
साउदी जानुअघि सुरेन गाडी चलाउँथे। त्यो उनको आफ्नै गाडी थियो। बजारबाट आफ्नो गाउँसम्म चलाउँथे।
तर बाटो साह्रै अप्ठ्यारो थियो। हिउँदमा ठिकठाक भए पनि साँघुरो कच्ची बाटो वर्खामा डरमर्दो हुन्थ्यो। ज्यानै धरापमा राखेर काम गर्दा पनि कमाइ सोचेजस्तो थिएन। महिनामा ३० देखि ४० हजार भए पनि एकमुष्ट थिएन।
'खासमा कमाइ त नेपाल र विदेशको उस्तै हो। विदेशको एकमुष्ट हुन्छ र बच्छ भन्ने मात्रै हो,' उनले भने, 'नेपालमा कमाएको खत्र्याकखुत्रुक खर्च गर्दै सकिन्छ।'
कहिले गाडी बिग्रिएर घाटामा जान्थ्यो।
'मैले त गाडी व्यवसाय बुझेकै थिइनँ। पहाडी बाटोमा गाडी एकदमै बिग्रिने रहेछ,' उनले भने, 'आफ्नो गाउँमा कोही बिरामी हुँदा बोकेर कुदाउनुपरेको देखेर सेवा र रोजगार दुबै हुन्छ भनेर गरेको थिएँ। उल्टो धेरै दुःख पाएँ।'
उनले जसोतसो चार वर्ष गाडी चलाए। देशमा महँगी बढ्दै थियो। कमाइको भर थिएन। अर्को महिना ठ्याक्कै यति कमाउँछु र जेनतेन चलाउँछु भनेर हिसाबै गर्न नसकिने। त्यस्तै बेटुंगे काम र कमाइका कारण सुरेनले परदेशको बाटो रोजे।
'विदेशमा गरेजति दुःख नेपालमा पनि गर्दा भइहाल्छ जस्तो लाग्थ्यो। तर होइन रहेछ,' उनले भने।
साउदी जाँदा उनले गाडी अर्कैलाई चलाउन दिए। वर्ष दिनपछि सस्तोमा बेचिदिए। सबै हिसाब गर्दा घाटा भने लागेन। लगानी उठ्यो।
उसो त गाडी व्यवसाय गर्नुअघि पनि उनी वैदेशिक रोजगारीमै थिए। मलेसियामा उनी होटलमा काम गर्थे। त्यहाँ चार वर्ष काम गरे। त्यही कमाइले गाडी किनेका थिए।
सन् २०११ पहिलोपटक देश छाडेर मलेसिया गएका थिए उनी भक्कानिएको मुटु गाँठो पारेर बिदा भएका थिए।
परिवारसँगै बसेर काम गर्छु भनेर फर्केका थिए।
'सबै कुरा सोचेजस्तो नहुने रहेछ। विकल्प नभएपछि फेरि विदेश नै आएँ,' उनले भने, 'आफ्नो देश छाड्दै गर्दा कस्तो हुन्छ होला। शब्दमा भन्न सकिँदैन।'
२०६४ सालमा एसएलसी दिएका उनले २०६६ सालमा प्लस-टु पढेर सकेका थिए। त्यसपछि देशको सुरक्षा सेवामा प्रवेश गर्ने सपना थियो। यो सपना उनका बुबाको पनि थियो।
बुबा छोरो सेना बनेर देशको सेवा गरोस् भन्ने चाहन्थे। सुरेनको त मनैदेखिको सपना। जसरी पनि आर्मी बन्छु भनेर कस्सिए। भर्तीका लागि दुईपटक कोशिस गरे। दुवैपटक अन्तर्वार्तासम्म मात्र पुगे।
'आर्मी बन्न पनि सजिलो रहेनछ,' उनले सुनाए, 'पैसा र पावर चाहिने देखेँ, मसँग दुवै थिएन।'
उनी एक निजी स्कुलमा पढाउन पनि गएका थिए। तलब महिनाको पाँच हजार रूपैयाँ थियो। बुबाआमाका जेठा सन्तान सुरेन, त्यो तलबले घरको खर्च भरथेग पुग्दैन थियो।
'परिवारको जिम्मेवारी पनि सम्हाल्नुपर्ने मैले त्यतिले कति पुर्याउन सक्थेँ र! नहुने भयो भनेर निस्किएँ,' सुरेनले भने, 'अरू धेरैतिर भौंतारिएँ। भनेजस्तो काम र कमाइ नभएपछि परदेशी भएको हुँ।'
सुरेनको परिवारमा हजुरआमा, आमा, बुबा, श्रीमती, छोराहरू र भाइ छन्। दुई बहिनीको बिहे भइसक्यो। परिवार सम्हाल्ने जिम्मा उनकै काँधमा छ। परिवारको झल्कोले बेलाबेला सताउँछ। फुर्सद हुनासाथ कुरा गरिहाल्छन्।
'विदेशी जिन्दगी रमाइलो नै हुन्छ हौ। जनवरीतिर छुट्टीमा आइएको थियो। परिवार-आफन्त भेटघाट भयो,' उनले हाँस्दै सुनाए।
त्यहाँ काम गर्ने ठाउँमा पनि सहजै छै। सातामा एक दिन शुक्रबार बिदा हुन्छ। चाडबाड नेपालकै जस्तो गरी मनाउन नसके पनि साथीभाइसँग भेटघाट गरेर रमाइलो हुन्छ। समय मिल्दा, तीज, दसैंमा कार्यक्रम गरिरहेका हुन्छन्।
'चाडबाडमा परिवारसँग टाढा बस्नुपरेको सम्झिँदा दुःख लाग्छ। फेरि देशको स्थिति सम्झिँदा यतै ठीक हो जस्तो लाग्छ। बानी परेपछि रमाइलै छ भनौं,' ३३ वर्षीय सुरेनले भने।
झन्डै एक दशक परदेशमै बिताइसकेका उनलाई श्रीमतीले पनि अब धेरै विदेश नबस्नु भनिरहेकी छन्। आमाबुबाले पनि धेरै वर्ष भयो, अब त फर्की भन्छन्।
तर उनी भन्छन्, 'बेरोजगार भइन्छ। अझ देशमा आर्थिक मन्दी छ भन्ने सुनिन्छ। फर्किएर कामै भएन भने कसरी हेर्नु परिवार?'