दक्षिण कोरियास्थित पानीजहाज बनाउने (सिप बिल्डिङ) का लागि परीक्षामा सहभागी भएका १८ जनाले मात्रै उत्पादन क्षेत्रका लागि परीक्षा दिन पाउने भएका छन्।
कोरिया रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले यसअघि सन् २०२३ भित्र अन्य क्षेतर्फ कोरियन भाषा परीक्षाका लागि आवेदन दिएका आवेदकहरूले उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन नपाउने सूचना निकालेको थियो।
त्यसपछि सिप बिल्डिङ परीक्षामा सामेल भएका सुरज पाठकसमेत १८ जनाले उत्पादन क्षेत्रमा पनि परीक्षा आवेदन दिन पाउनुपर्ने माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए।
उनीहरूले इपिएस शाखा, वैदेशिक रोजगार विभाग र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई विपक्षी बनाई उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए।
सिपबिल्डिङमा सहभागी हुनेको संख्या ३२ हजारभन्दा धेरै छ। तर अदालतले मुद्दा दायर गर्ने १८ जनाले मात्रै फेरि दक्षिण कोरियाको उत्पादन क्षेत्रमा रोजगारीका लागि आवेदन दिन पाउने अन्तरिम आदेश दिएको इपिएस शाखा प्रमुख गुरूदत्त सुवेदीले बताए।
सिप बिल्डिङमा सहभागीहरू सबैजनाले उत्पादन क्षेत्रको परीक्षामा सामेल हुन पाउनुपर्ने माग गर्दै शाखामा आएका छन्। शाखामा सुरक्षा व्यवस्था कडाइ गरिएको छ। उनीहरूलाई शाखाको गेटबाट भित्र प्रवेश पनि दिइएको छैन।