नेपालमा श्रमिकहरूका लागि मर्यादित काम र आकर्षक अवसरहरू प्रदान गर्ने उद्देश्यले 'डिसेन्ट वर्क कन्ट्री' कार्यक्रम सुरू गरिएको छ।
नेपाल सरकार, अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ), ट्रेड युनियन तथा रोजगारदाताले उक्त कार्यक्रम कार्यन्वयनका लागि बुधबार हस्ताक्षर गरेका छन्।
नेपालमा मर्यादित कामका लागि देशीय कार्यक्रम २०२३–२०२७ मा संयुक्त हस्ताक्षर गरिएको हो।
आइएलओ नेपालले सबैका लागि मर्यादित काम सुनिश्चित गर्ने लक्ष्य साकार पार्न सबैको भूमिका महत्वपूर्ण हुने बताएको छ।
यो कार्यक्रमले समावेशी रोजगारीलाई प्राथमिकतामा राखेको छ। त्यस्तै दिगो उद्यम, जीविकोपार्जन र सामाजिक सुरक्षालाई विशेष जोड दिने उल्लेख छ।
नेपालमा रोजगारीका अवसर सिर्जना तथा श्रम बजारमा प्रवेश गर्ने नयाँ जनशक्तिका लागि उपयुक्त अवसरको खाँचो औँल्याइएको छ।
नेपालमा हरेक वर्ष पाँच लाख युवा श्रम बजारमा प्रवेश गर्छन्। देशभित्र भनेजस्ता अवसर नहुँदा अधिकांश युवाहरू अवसरको खोजिमा विदेशिन बाध्य छन्।
वैदेशिक रोजगार विभागको पछिल्लो तथ्यांक हेर्दा हरेक दिन दुई हजारको हाराहारीमा युवाहरू अवसरको खोजिमा विदेश गइरहेका छन्।
कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव केवलप्रसाद भण्डारीले नेपालमा श्रमको उत्पादकत्व निकै कम भएको बताए।
'उत्पादकत्व बढाउने गरी श्रम शक्ति उत्पादनमा अब सबै मिलेर अघि बढ्नुपर्छ,' उनले भने।
श्रमिकहरूको सामाजिक सुरक्षा ग्यारेन्टी गर्दै सम्मानपूर्वक काम गर्ने वातावरण सिर्जना गर्ने उनले उल्लेख गरे।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले यो कार्यक्रम श्रम क्षेत्रका लागि कोशेढुंगा सावित हुने दाबी गरे। आइएलओको कार्यक्रमले रोजगारीका नयाँ अवसर थपिने विश्वास व्यक्त गरे। श्रम बजारलाई मर्यादित बनाउन निजी क्षेत्र हातेमालो गर्न तयार रहेको पनि उनले बताए।
संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष विनोद श्रेष्ठले कोभिड महामारीका कारण श्रम बजारमा देखिएको डरलाग्दो समस्या बढेको उल्लेख गरे।
यो आइएलओको कार्यक्रमले रोजगारीमा देखिएको समस्या समाधान हुनेमा विश्वास व्यक्त गरे।
देशमा अवसर नहुँदा बाध्य भएर नेपाली श्रमिकहरू विदेशिनुपर्ने अवस्था रहेको उनले उल्लेख गरे।
आइएलओ नेपालका निर्देशक नुमान ओजक्यानले डिसेन्ट वर्क कन्ट्री कार्यक्रमले नेपालको श्रम बजार मर्यादित बनाउन सहयोग पुर्याउने दाबी गरे।