हरेक वर्ष १८ डिसेम्बरमा मनाइँदै आएको अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस विभिन्न कार्यक्रम गरेर सप्ताहव्यापी रूपमा मनाइने भएको छ।
आप्रवासीको योगदानको कदर र अधिकारको सम्मान भन्ने मुल नाराका सात यहि पुस १ गतेदेखि ६ गतेसम्म मनाइने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले जानकारी दिए।
कार्यक्रमको मुल समारोह समितिका संयोजकसमेत रहेका सचिव भण्डारीका अनुसार भोलि विभिन्न सरोकारवाला समेतको प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ। त्यसपछि आप्रवासी श्रमिकका मुद्धामा विभिन्न कार्यक्रम तय गरिएको छ।
सरकारले आप्रवासी श्रमिकको हकहित तथा सुरक्षालाई ध्यानमा राख्दै अघि बढेको उनले बताए।
इन्टरनेसनल अरगनाइजेसन फर माइग्रेसन (आइओएम) को एक रिपोर्टअनुसार विभिन्न मुलुकका २८.१ करोड मानिसहरू विभिन्न सिलसिलामा एकदेशबाट अर्को देशमा बसोबास गरिरहेका छन्। रोजगारीका सिलसिलामा मात्रै २५ करोड मानिस एक देशबाट अर्को देशमा रहेको अनुमान छ।
सचिव भण्डारीले द्वन्द, गरिबी, जलवायु परिवर्तन लगायत कारण मानिसहरू कामको सिलसिलामा एक देशबाट अर्को देश जाने गरेको बताए। ‘नेपालमा हरेक वर्ष पाँच लाख श्रमशक्ति बजारमा आउने गरेको छ। उनीहरूलाई सीपयुक्त बनाएर वैदेशिक रोजगारीमा पठाउने सरकारको योजना छ,’ उनले भने।