व्यवसायिक तथा सीप विकास तथा तालिम प्रतिष्ठान र दक्षिण कोरियाको ग्लोबल इन्स्टिच्युट अफ ट्रान्सफरिङ स्किलबीच समझदारी भएको छ।
बिहीबार प्रतिष्ठानले प्रदान गर्ने व्यवसायिक तालिम तथा सीप विकासलाई थप व्यवस्थित गर्न प्रतिष्ठान र इस्टिच्युटबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो।
अब दुई निकायले पारस्पिारिक र साझा चासोका क्षेत्र पहिचान गरी सहकार्य गर्ने उल्लेख गरिएको छ। सीप र सीप परीक्षण लगायत क्षेत्रमा आर्थिक तथा प्राविधिक सहयोग गर्ने समझदारीमा उल्लेख छ।
कोरियाको इन्स्टिच्युटले कोरियाबाट फर्केर आएका युवाहरूको पुनःएकीकरणका लागि पनि योगदान पुर्याउने छ।
अन्य सहकार्यका लागि पहिचान भएका क्षेत्र पहिचान गरेर समेत अघि बढ्न सक्ने उल्लेख गरिएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव केवलप्रसाद भण्डारीले कोरियामा पनि सीपयुक्त श्रमिक पठाउन आवश्यकता भएको औंल्याए।
प्रतिष्ठानका कार्यकारी निर्देशक उमाकान्त आचार्यले कोरिया नेपाली श्रमिकहरूका लागि आकर्षक गन्तव्य मुलुक भएको बताए।
श्रमिकहरूलाई सीप सिकाएर पठाउन सके अझ राम्रो हुने बताए।
रोजगार अनुमति प्रणाली (इपिएस) शाखाका निर्देशक गुरूदत्त सुवेदीले कोरिया जाने श्रमिकहरूलाई हालसम्म पूर्वप्रस्थान (पिडिओटी) तालिममा मात्रै केन्द्रित गरिँदै आएकोमा अब कोरियाको श्रम बजारमा आवश्यक पर्ने सीपमा पनि जोड दिइने बताए।
'कोरियाको मात्रै नभएर अन्य गन्तव्य मुलुक र नेपालकै श्रम बजारको आवश्यकतालाई मध्यनजर गरेर तालिम प्रदान गरिन्छ,' उनले भने।
ग्लोबल इन्स्टिच्युट अफ ट्रान्सफरिङ स्किलका कार्यकारी निर्देशक ब्याङ कुक लिले कोरियाली रोजगारदाताको रोजाइमा नेपाली श्रमिकहरू रहेको बताए। उनले नेपाल फर्किएकाहरूलाई पुनर्स्थापनाका लागि पनि आफूहरूले सहयोग गर्ने बताए।