रौतहटको साधारण किसान परिवारमा जन्मेका हुन् मोतीउर रहमान। सन् २००६ मा १५ वर्षको उमेरमा एसएलसी उत्तीर्ण भए।
उनी लगातार पढाइ अघि बढाउन चाहन्थे। तर सम्भव भएन।
'म साधारण किसानको छोरो हुँ। किसानी गरेर बुबाआमाले सकेसम्म पढाउनुभयो। एसएलसीभन्दा माथि पढाउन सक्ने अवस्था थिएन,' ३३ वर्षीय मोतीउरले सम्झिए।
आमाबुबाका सात छोराछोरीमध्ये मोतीउर जेठा छोरा थिए। नौ जनाको परिवार चलाउन मुस्किल थियो। मोतीउर कम्प्युटर चलाउन सिक्ने उद्देश्यले एक इन्स्टिच्युटमा भर्ना भए। कम्प्युटरको आधारभूत सीप सिके। अंग्रेजी र नेपाली भाषामा टाइप गर्न जान्ने भए।
'त्यो बेला कम्प्युटरमा टाइप गर्न सक्नु ठूलै कुरा थियो। काम पनि पाइन्थ्यो। काम पाइने आशाले नै मैले कम्प्युटर सिकेको थिएँ,' उनले भने।
सोचेजस्तो भएन। अनि सन् २००८ मा कामको खोजीमा उनी भारतको दिल्ली पुगे। त्यहीँ बसेर काम गर्ने, पैसा कमाउने र आमाबुबालाई पठाउने आकांक्षा थियो। काम पनि मिलेको थियो। फेरि पनि सोचेजस्तो भएन। उनी बिरामी परेर घर फर्के।
'बिरामी परेपछि दिल्लीमा बस्नै सकिनँ,' उनले भने, 'पाएको काम पनि छाडेर फेरि दिल्ली आउँदिनँ भनेर हिँडेँ।'
केही दिनमा सन्चो भयो। घरमै बसिरहेर हुनेवाला थिएन। गाउँका धेरैजसो युवा कामको खोजीमा भारत पस्थे, कोही काठमाडौं जान्थे त कोही खाडी मुलुकतिर भासिन्थे।
मोतीउरले काठमाडौं जानु उचित ठाने। काम गर्दै पढ्ने र सरकारी जागिरे हुने सपना देखे। उनका एक जना साथी काठमाडौंमा एउटा कारखानामा झोला सिउने काम गर्थे। तिनकै आश्वासनमा काठमाडौं पुगे। साथीसँगै काम सुरू गरे।
झोला सिउने काममा उनको मन अडिएन।
'बाध्यताले त्यो काम गर्नुपरेको थियो। रूचि नै थिएन। केही उन्नति होला जस्तो पनि लागेन,' उनले भने।
मोतीउरले कम्प्युटर टाइप गर्ने काम पाए। जति बढी काम टाइप गर्न सक्यो, त्यति नै बढी पैसा हुन्थ्यो। काम चल्दै थियो। तर काठमाडौं पनि उनलाई फापेन। बिरामी परिरहे। फेरि काम छाडेर घर फर्के।
के काम गर्ने, कसरी घर चलाउने भन्ने औडाहा थियो। उनका बुबा काम गर्न नसक्ने थिए। घरको जिम्मेवारी उनकै काँधमा भएकाले पैसा कमाउनु थियो।
उनका काका र फुपूका छोरा (दाइ) कतारमा थिए। उनीहरूसँग फोनमा कामको कुरा भइरहन्थ्यो। एक दिन दाइले कामका लागि भिसा पठाइदिने कुरा गरे। तत्कालका लागि खर्च पनि काका र दाइले नै हालिदिने भए।
मोतीउरलाई विदेश जान मन थिएन। स्वदेशमै निजामती सेवामा प्रवेश गर्ने सपना थियो। तर उनी थप पढाइ गर्न र लोक सेवा परीक्षाको तयारी गर्न सक्ने अवस्थामा थिएनन्। त्यसैले सन् २०१० मा उनी कतार गए।
'राम्रो सपना देख्न पनि आर्थिक अवस्था बलियो हुनुपर्दो रहेछ। मेरो अवस्थाले गर्दा म विदेश जान बाध्य भएँ,' उनले भने।
कतारमा उनले फोटोग्राफीको काम गर्नुपर्ने भयो। कहिल्यै नगरेको काम, आधुनिक क्यामरा चलाउन जानेका थिएनन्। सुरूसुरूमा रोजगारदाताको गाली खाए।
'तिमीलाई ल्याउँदा मेरो धेरै पैसा खर्च भएको छ। मलाई काम जानेको मान्छे चाहिएको थियो भनेर गाली गरे,' मोतीउरले सम्झिए, 'मैले चुपचाप सहेँ। काम नजानेको भए पनि पछिपछि मेरो व्यवहारमा रोजगारदाता खुसी थिए। उनैले क्यामरा चलाउन सिकाए।'
करिब तीन महिनामा उनले काम सिकिहाले। उनी दैनिक १२ घन्टा खट्थे। स्टुडियोका साथै विवाह, वार्षिकोत्सव, जन्मोत्सव, चाडपर्व र विभिन्न समारोहमा फोटो खिच्न बाहिर जानुपर्थ्यो। कुनै दिन बिदा थिएन। काममा कहिलेकाहीँ टिप्स पाउँथे। महिनामा २५ हजार नेपाली रूपैयाँसम्म बच्थ्यो।
काम गर्दै जाँदा मोतीउरका रोजगारदाता सन्तुष्ट हुँदै गए। जिम्मेवारी र तलब बढाइदिए। उनले दस वर्ष एउटै कम्पनीमा काम गरे।
उनी छुट्टीमा घर आउँथे। सन् २०१९ मा पनि बिदामा आएका थिए। त्यो बेला भने उनको जीवनले नयाँ मोड लियो।
मोतीउरसँगै पढेका एक जना साथी सरकारी जागिरे भएका थिए। ती साथीले विदेशमै भए पनि लोक सेवा परीक्षा तयारी गर्न र मौकामा परीक्षा दिन सल्लाह दिए। त्यो बेलासम्म मोतीउर आर्थिक अवस्था पनि सहज भइसकेको थियो।
कतारमा काम गरेको दस वर्षमा घरको केही बन्दोबस्त मिलाएका थिए। बिहे गरे, सन्तान भए। नयाँ घर बनाएर केही जमिन पनि जोडे। आफ्ना दुई जना भाइलाई कतारमै काम मिलाएका थिए।
त्यसैले मोतीउरलाई साथीको सुझाव उचित लाग्यो।
पढाइ छाडेको करिब १५ वर्ष भएको थियो। तैपनि सरकारी जागिरे बन्ने अठोट लिए। बिदा सकेर, कतारको कामको सबै हिसाबकिताब मिलाएर उनी स्वदेश फर्के।
फर्केपछि उनी कक्षा ११ मा भर्ना भए। सपना पूरा गर्न कम्मर कसेर तयारीमा लागे। आर्थिक वर्ष २०७६/७७ मा पहिलोपटक उनले खरिदार पदमा लोक सेवा आयोगको परीक्षा दिए। उत्तीर्ण भने भएनन्।
यो असफलताले उनको मन अत्तालियो। के गर्नु र कसो गर्नुजस्तो भयो। उनलाई बुबाले ढाडस दिए। भाइले पनि निराश नभइ फेरि तयारी गर्न सुझाए। साथीहरूले हौसला दिए।
मोतीउर फेरि कस्सिए। कोरोना महामारी फैलिँदा उनी हेटौंडामा बसेर तयारी गर्दै थिए। त्यही समयमा १२ कक्षा पनि पूरा गरे। कोराना मत्थर भएपछि थप तयारी गर्न काठमाडौं आए। खरिदार पदमै परीक्षा दिए।
२०८० साउन ११ गते परीक्षाफल प्रकाशित भयो।
मोतीउरको धेरै वर्ष पुरानो सपना त्यो दिन विपना भइदियो।
'मेरो त खुसीको सीमा नै रहेन,' उनले भने, 'कहिलेदेखि देखिरहेको सपना आँखाअगाडि, विपनामै आउँदा कस्तो हुन्छ होला!'
हाल उनी जिल्ला हुलाक कार्यालय, महोत्तरीमा कार्यरत छन्।
सरकारी सेवामा प्रवेश गर्ने सपना पूरा भए पनि आर्थिक रूपले सजिलो रहनेछ भन्ने उनले महसुस गरेका छन्। कतारमा उनको कमाइ सन्तोषजनक थियो। अहिले तीन सन्तानसहितको ठूलो परिवार चलाउन पहिलेजस्तो सहज छैन।
सरकारी जागिरेले घुस लिएको, भ्रष्टाचार गरेको कुरा उनले सुनेका छन्। तर आफू यस्तो काममा कहिल्यै नलाग्ने उनी बताउँछन्।
'खान नपुगे पनि म कुनै किसिमको अनियमितता र भ्रष्टाचार गर्दिनँ,' उनले भने।
मोतीउरले अर्को अठोट पनि गरेका छन्, शाखा अधिकृत हुने।
उनले स्नातक तहको पढाइ सुरू गरिसके। यो पढाइ पूरा हुनासाथ शाखा अधिकृत पदको परीक्षा दिने योजना छ।
'कमाइ घटेको छ तर सरकारी सेवामा काम गर्ने सपना पूरा भएको छ। आफ्नै देशमा बसेर सेवा गर्ने अवसर प्राप्त भएकोमा खुसी छु,' मोतीउरले भने, 'लोक सेवाको परीक्षा दिएरै माथिल्लो पदमा पुग्ने अठोट गरेको छु।'