दिलबहादुर सुनार (राजु) लाई यसपालि दसैं मनाउने बिदा मिलेन। उनले राम्ररी दसैं मनाउन नपाएको १५ वर्ष भयो। उनी परदेशी भएको पनि त्यति नै वर्ष बिते।
दसैं हिन्दु नेपालीहरूका लागि परिवारको मिलन हुने पर्व हो। जति नै टाढा भए पनि दसैंमा पारिवारिक जमघटका लागि घर फर्किने र रमाइलो गर्ने चलन छ।
तर परदेशी भएयता राजुका धेरै दसैं खल्लो भएका छन्। सन् २००९ मा कतार गएका उनले यसबीच दुईपटक मात्रै घरपरिवारसँगै दसैं मनाउन पाए।
'परिवार र आफन्तको सम्झना बोकेर परदेशमा काम गर्न बाध्य छु,' उनले भने, 'मेरो जस्तै बाध्यता धेरै साथीहरूको छ।'
उनी दोहास्थित औद्योगिक क्षेत्रमा क्रेन चलाउँछन्। उनलाई दसैं मनाउनकै लागि भनेर बिदा कहिल्यै मिल्दैन।
संयोगले बिदा मिल्दा सन् २०११ र २०१९ मा आफूले दसैं मनाउन पाएको उनी सम्झिन्छन्।
सन् २०११ मा उनलाई तिहारसम्मकै बिदा थियो। मुस्किलले पाएको बिदामा त्यो वर्ष दसैं मनाउँदाको अनुभव भने नरमाइलो छ।
राजुको परिवारमा स्थानीय परम्परा अनुसार मन्दिरमा टीका चढाएपछि मात्र टीका लगाइन्छ। त्यो वर्ष राजुको घरमा टीकाको सबै तयारी थियो। उनी टीका लिन मन्दिर गए।
टीका लिएर घर पुग्दा उनका छोरा थिएनन्। बोलाउँदा पनि बोलेनन्। खोजी सुरू भयो। राजु निकै आत्तिए। हंसले ठाउँ छाडिसकेको थियो।
दौडधूप गर्दै खोज्दा निकै बेरपछि छोरा र भाञ्जा टिभी हेरेर बसेका भेटिएछन्।
'मलाई छोरो नभेटिएको रिसको पारो चढेछ। आवेगमा छोरा र भाञ्जालाई नराम्रोसँग पिटेछु,' उनी सम्झिन्छन्, 'छोराले नराम्रो मान्यो। पछि टीका पनि लगाउन मानेन। भाञ्जाले पनि अरू सबैले टीका लगाएर दक्षिणा र आशीर्वाद दिनुभयो, मामाले भकुर्नुभयो भन्ने गुनासो गर्नुभएछ।'
पछि फकाएर उनले छोरालाई टीका लगाइदिए। आशीर्वाद पनि दिए। छोरालाई कुटेको सम्झेर आफैं रोए पनि।
'म पनि परिवारसँग रमाइलो गर्न भनेर परदेशबाट गएको। तर छोराले त्यसो गरेपछि आवेगमा आएछु। त्यो क्षण सम्झिँदा अहिले पनि भक्कानो फुट्छ। त्यो दुःखदायी क्षण म सम्झिनँ चाहन्नँ तर कहिल्यै बिर्सिन पनि सक्दिनँ,' उनले भने।
सन् २०१९ को दसैंमा भने धेरै बिदा थिएन।
त्यो बेला त पूर्णिमाकै दिन उनी आँशु खसाउँदै झोला बोकेर फर्किए।
चौध वर्षको अवधिमा उनको दसैं अनुभव यत्ति हो।
बिदा मिलिहाले पनि कहिले असार, कहिले साउन त कहिले अरू नै महिना पर्छ। एकपटक चैतमा बिदा मिलेको थियो। त्यस बेला उनले गाउँमा चैते दसैं मनाउन पाएका थिए।
'त्यही भए पनि मनाउन पाइयो भन्ने हुन्छ कहिलेकाहीँ। परदेशमा कामको मात्रै चासो हुन्छ,' उनले भने, 'बरू इदमा बिदा मिल्छ। त्यति बेला साथीभाइसँग रमाइलो गर्न पाइन्छ। दसैंमा त ड्युटी गर्नुपर्छ।'
उनका अनुसार दोहामा इदको अवसरमा उनीहरूले तीन दिन बिदा पाउँछन्। त्यसैले नेपालीहरूलाई त्यो समय रमाइलो गर्ने अवसर हुन्छ।
'एकपटक इद र दसैं सँगसँगै जस्तो परेको थियो। त्यो बेला चाहिँ साथीभाइ जम्मा भएर दसैंमा रमाइलो गर्ने मौका मिलेको थियो,' उनले भने।
त्यो बेला उनीहरूले सिंगै खसी किनेर मासु खाएका थिए। आफूआफू टीका पनि लगाएको उनी सम्झिन्छन्।
परदेशमा जति सम्झना सँगाले पनि गाउँघरको चर्के पिङ, लिंगे पिङ, परिवारको हाँसो र आफन्तहरूको आशीर्वादको यादले उनलाई पोलिरहन्छ।
'आफूभन्दा ठूलाबडाहरूसँग टीका, जमरा र आशीर्वाद थाप्दै आफन्तहरूको घरघर डुलेको याद आउँछ। आफ्नो संस्कृति कहाँ भुल्न सकिन्छ र,' राजुले भने, 'बरू धेरै सम्झिइन्छ। परिस्थिति अनुकूल नहुँदा देश फर्किन पाइँदैन, दुःख लाग्छ।'
उनको घरमा आमा, श्रीमती, बुहारी, छोराछोरी छन्। बुबा भारतीय सेनामा थिए। अवकाश लगत्तै, २५ वर्षअघि बुबाको निधन भएको हो। उनका भाइ पनि विदेशमै छन्।
२०३५ सालमा जन्मेका राजुको उमेरले साढे चार दशक नाघिसक्यो। डेढ दशक त परदेशमै बिताइसके। परिवारकै खुसीका लागि उनी आफ्नो उमेरको समेत ख्याल नराखी काम गरिरहेका छन्।
आफ्नो जीवनको समय हिसाब गर्दै भने, 'ओहो! उमेर त साढे चार दशक भएछ। दसैं सम्झिँदा जीवनको उत्तरार्द्धतिर पुगेको सम्झना पो गरायो। तर वर्ष त गन्नका लागि नम्बर मात्रै हो। मनोबल उच्च बनाएर काम गर्ने हो।'
कतार जानुअघि उनी नेपालमै गाडी चलाउँथे। २०६३ भदौ २० गतेको कुरा, चलाइरहेको गाडी पल्टियो। गाडीमा साहुसहित १२ जना थिए। गाडीमा सवार एक जनाको हात भाँचियो। अर्कोको टाउकोमा चोट लाग्यो। राजुसहित अरू सामान्य घाइते भए।
मानवीय क्षति नभए पनि गाडी बिग्रियो। त्यो दुर्घटनाले गाडी साहु र उनलाई नोक्सान पुर्यायो। राजुकी आमा र श्रीमतीले गाडी नचलाउन भने। त्यसपछि दुःखका दिन सुरू भए। अनि राजुको परदेशको कथा सुरू भयो।
सुरूमा उनी साधारण कामदार भिसामा कतार गएका थिए। गाडी चलाउने सीप भएकाले पछि क्रेन चलाउन थालेका हुन्।
'मलाई यहाँसम्म बहिनीज्वाइँले ल्याउनुभएको हो। सुरूमा केही महिना भिसाअनुसारकै काम गरेँ। पछि आफ्नो सीपअनुसारको काम गर्न थालेँ,' उनले सुनाए।
भर्खरै उनले कम्पनी परिवर्तन गरेर काम गरिरहेका छन्। पुरानो कम्पनीले तलब नदिएका कारण कम्पनी फेर्नुपरेको हो। पुरानो कम्पनीले उनलाई लगभग २५ लाख रूपैयाँ तलब दिन बाँकी छ। यसबारे त्यहाँको श्रम अदालतमा एक वर्षदेखि मुद्दा चलिरहेको पनि उनले बताए।
यसको सुनुवाइ कहिले हुन्छ, उनलाई थाहा छैन। तर आफ्नो पसिनाको कमाइ सम्झिँदा भावुक हुन्छन्।
परदेशका अनेक दुःखले भन्दा बढी छटपटी भने उनलाई चाडबाडको समयमा घर जान नपाउँदा हुन्छ।
भन्छन्, 'परदेश नै घर भएको छ। घर चाहिँ छुट्टी मनाउने स्थान जस्तै भएको छ। तर चाडबाडमै जान नपाउँदा साह्रै नरमाइलो लाग्छ। १५ वर्ष भयो राम्ररी दसैं मनाउन नपाएको!'