भक्तपुरमा सेनेटरी प्याड उद्योग सञ्चालनमा आएको छ। सूर्यविनायक-५ शान्तिटोलीमा हालै सुविधा नामको सेनेटरी प्याड उत्पादन थालिएको हो।
भक्तपुरकी उद्यमी शिला अधिकारीले माघ १ गतेबाट उद्योग सुरू गरेकी हुन्। अहिले उद्योगले परीक्षण उत्पादन सुरू गरेको अधिकारीले बताइन्।
उद्योगको स्थिर र चालू पूँजी ५० लाख रहने छ। उद्योगमा सबै महिला कामदार राखिएको छ।
उद्योगमा पूर्ण स्वचालित मेसिन प्रयोग गरिएको अधिकारीले बताइन्। यो मेसिनको वार्षिक प्याड उत्पादन क्षमता ४० देखि ५० लाख पिस रहेको छ भने यसमा विकीरणको माध्यामबाट स्टेरीलाइज गर्ने प्रविधि जडान भएको अधिकारीले बताइन्।
‘हामीले एनाइन चिप प्रविधियुक्त प्याड उत्पादन सुरू गरेका छौं,’ उनले भनिन्, ‘यो प्रविधिबाट बनेको प्याडमा नेगेटिभ आयनयुक्त एनाइन चिप राखिएको हुन्छ, जसले ब्याक्टेरिया, फङ्गस र भाइरसजन्य समस्यालाई निराकरण गर्न मद्दत गर्छ।’
उद्योगमा एक्सएल र डबल एक्सएल दुबै साइजका प्याड उत्पादन हुने र ८ वटा प्याड रहने एक प्याकको खुद्रा मुल्य ७५ तथा थोक मूल्य ६० राखिएको अधिकारीले बताइन्।