श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ युएईमा अलपत्र नेपालीहरूको व्यवस्थापनका लागि आगामी साता संयुक्त अरब इमिरेट्स(युएई) जाने भएका छन्।
रोजगारको प्रलोभनमा पर्यटन तथा अन्य भिसामा युएई पुगेर अलपत्र परेका नेपालीहरूको व्यवस्थापनका विषयमा युएई सरकारसँग छलफल गर्न मन्त्री श्रेष्ठ युएई जान लागेका हुन्। नेपालीलाई युएईमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन र पीडितलाई कसरी न्याय दिलाउन सकिन्छ भन्नेबारे मन्त्री श्रेष्ठले नेपालका लागि युएईका राजदूत साइद हमदान अल नाकीसँग आज मन्त्रालयमा छलफल समेत गरे।
उनले रोजगारीको प्रलोभनमा युएई गई अलपत्र परेका नेपालीहरूको समस्या समाधानमा सहयोग गर्न राजदूत साइदसँग आग्रह गरे।
मन्त्री श्रेष्ठले अलपत्र परेका नेपालीहरूलाई युएईमै रोजगारीको अवसर प्रदान गर्ने, भिसा अवधि सकिएर बढी शुल्क बुझाउनुपर्ने वा गैरकानुनी रूपमा बस्नुपर्ने बाध्यता भएकाहरूलाई आममाफी दिनुपर्ने तथा उद्धार गर्नुपर्नेहरूलाई नेपाल फिर्ता गर्ने क्रममा युएई सरकारबाट सहयोगको अपेक्षा गरिएको बताए।
नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर प्रचलित कानुनले तोकेको प्रक्रियाभन्दा बाहिरबाट नेपालीलाई त्यहाँ पुर्याउने व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन पनि युएई सरकारबाट सहयोगको अपेक्षा गरिएको श्रेष्ठको भनाइ छ।
राजदूत साइदले अलपत्र परेका नेपालीलाई युएईमा नै रोजगारी दिलाउन तथा उद्धार गर्नुपर्नेहरूलाई पनि आवश्यक सहयोग गर्ने बताए। मन्त्री श्रेष्ठको भ्रमणको क्रममा नेपाल युएई संयुक्त समितिको बैठक पनि आयोजना हुने मन्त्रालयले जनाएको छ।