गत जेठ ३ गते श्रम, रोजगार तथा सामाजिक मन्त्री गोकर्ण विष्टले मलेसिया जाने कामदारमाथि चर्को असुली भइरहेको भन्दै भिएलएन, बायोमेट्रिक,ओएसजी, जिएससी र माइग्राम खारेजको घोषणा गरे।
त्यसको ५ महिनापछि कात्तिक १२ गते मलेसिया सरकारसँग श्रम समझदारी भयो। श्रम समझदारी भएको ३ साता पुगेको छ, तर पनि मलेसियामा खुलेको छैन्। कामदार पठाउने प्रक्रिया बन्द छ।
कलिङ भिसा लगायतका अड्चनका विषयमा सहमति गर्ने र खोल्ने भन्दै दुइदेशका अधिकारी सम्मिलित कार्यदल गठन भएको थियो ।
मलेसियन कार्यदल समझदारी भएको दोस्रो दिनमा नै फर्किसकेको छ। त्यसपछि कार्यदलको बैठक बस्न सकेको छ। श्रम मन्त्रालयले भिएलएन लगायतका स्वास्थ्य परीक्षणका गर्ने संस्थाहरु परिवर्तन गर्न खोजेर नयाँ ल्याउन खोजेपछि मलेसिया खुल्न नसकेको म्यानपावर ब्यवसायीहरुले बताएका छन् ।
'श्रम मन्त्री भिएलएन, बायोमेट्रिक स्वामित्व रहेका अहिलेका मालिक हटाएर नयाँ ल्याउन खोजिरहेका छन्' मलेसियामा रहेका एक म्यानपावर व्यवसायीले भने, 'जसका कारण हामी मारमा परयौं, अझ कामदार बढी मारमा परे।'
मलेसियासँग भएको श्रम समझदारीको ७ नम्बरको 'एफ'मा ओएसजी, जिएससी र माइग्राम हटाएर सेक्युरिटी स्क्रिनिङ राखिएको छ।
७ नम्बरकै 'जी' मा बायोमेट्रिक हटाएर मेडिकल एक्जामिनेसन इन नेपाल राख्ने उल्लेख छ भने एचमा भिएलएन हटाएर सिंगल इन्ट्री भिसा नाम राख्ने सहमति भएको छ।
'नाम मात्र परिवर्तन गरेर नहुने, यी संस्थाका स्वामित्व नै परिवर्तन गर्नुु पर्ने नेपाली कार्यदलको माग छ,' नेपालस्थित मलेसियन दुतावासका एक अधिकारीले बताए ।
नाम मात्र परिवर्तन गरेर नहुने, यी संस्थाका स्वामित्व नै परिवर्तन गर्नुु पर्ने माग अघि सारेपछि त्यसको स्वामित्व लिन ब्यवसायीको दौडधुप चलिरहेको छ। अहिले भिएलएनको स्वामित्व रामप्रसाद श्रेष्ठको नाममा छ।
मलेसियामा बस्दै आएका खगेन्द्र न्यौपाने र सन्तोष कार्की, नेपालमा व्यवसाय चलाइरहेका प्रेम घले अहिले 'सिंगल इन्ट्री भिसा' अर्थात भिएलएनको जस्तै काम गर्ने गरी लविङमा लागेका छन् ।
न्यौपाने मलेसिया एनआरएनको अध्यक्षसमेत हुन । ९ वर्षअघि कामदार लगेर मलेसियामा बिचल्ली बनाएको भन्दै उनी खराव सुचीमा परेका थिए। हाल पर्यटक भिसामा उनी मलेसियामा बसिरहेका छन्। कार्की भने मलेसियामा व्यवसाय गरिरहेका छन् ।
नेपाली कामदारहरुको पासपोर्ट बनाइदिने भन्दै नेपालीहरुमाथि ठगी गरेको उनीमाथि आरोप लाग्दै आएको छ। घले भने नेपालमा नै ब्यवसाय चलाइरहेका छन् । रद्युनाथ पुरीको समुह भने बायोमेट्रिक तिर लागेको छ।