मलेसिया नेपाली कामदार ‘नि:शुल्क’ लैजान सहमत भएको छ।
नेपाली कामदार मलेसिया लैजाँदा लाग्ने शुल्क मलेसियाली रोजगारदाताले नै व्यहोर्ने विषय समेटिएको श्रम सम्झौतामा सोमबार हस्ताक्षर हुने भएको हो। हस्ताक्षरका लागि मलेसियाका मानव संशाधन मन्त्री एम कुलाशेगरण आज नेपाल आउँदै छन्।
नेपाली र मेलसियाको श्रम मन्त्रालय स्तरमा भएको वार्ताले कामदारको भिसा शुल्क, टिकट शुल्क रोजगारदाताले ब्यहोर्ने समझदारी जुटाएको थियो। त्यस्तै कामदारले मेनपावरलाई तिर्नुपर्ने सेवा शुल्क समेत रोजगारदाताले नै ब्यहोर्ने बुदाँसमेत सम्झौतामा समेटिएको छ। त्यस्तो सेवा शुल्क कामदारको पहिलो महिनाको आधा तलब हुनेछ।
गोकर्ण बिष्टले मन्त्री भएलगत्तै कामदारबाट मलेसियाले अनावश्यक रकम उठाएको भन्दै कामदार पठाउन रोक लगाउने निर्णय गरेका थिए। भिएलएनको नाममा भिसा प्रोसेसिङमार्फत् पैसा उठाएको भन्दै मन्त्री बिष्टले कामदार नपठाउने अडान राखेका थिए।
अब नेपालमा जिएसजी र स्वास्थ्य परीक्षणको शुल्क कामदारले तिर्नुपर्ने तर मलेसिया पुगेलगत्तै कामदारको तलबमा सो रकम रोजगारदाता कम्पनीले हालिदिनुपर्ने समझदारी हुन लागेको हो।
मन्त्री बिष्टले सोमबार मलेसियासँग वार्ता हुने बताए।
‘हामी वार्तापछि थप विवरण सार्वजनिक गर्छौं’, उनले सेतोपाटीसँग भने।
सन् २००१ देखि नेपाली कामदार मलेसियामा रोजगारका लागि जान थालेका हुन्।