श्रम मन्त्रालयले कामदारमाथि आर्थिक भार परेको भन्दै गत जेठ ३ गतेदेखि कामदार मलेसिया पठाउन रोक लगाएको थियो ।
कामदार रोकिएको ४ महिनापछि मलेसियाले नेपाली कामदारहरुका बारेमा नेपालले राखेको प्रस्तावमा सहमति जनाएको छ । मलेसिया सहमति जनाएसँगै रोकिएको कामदार प्रक्रिया अब खुल्ने संकेत देखिएको छ।
मलेसिया र नेपालका अधिकारीहरुबीच श्रम मस्यौदाको टुंगो लगाउन आज बैठक बसेको थियो । सो बैठकमा यथाशक्य चाँडो श्रम सम्झौताको मिति तय गरिने र रोकिएको बाटो पनि खुलाउने सहमति भएको मलेसियास्थित नेपाली दुतावासले जनाएको छ।
नेपाली कामदारमाथि पारिएको आर्थिक भार हटाउन पनि दुई देशका अधिकारीबीच सहमति भएको छ । भिसा र स्वास्थ्य परिक्षण लगायतका खर्च रोजगारदाता कम्पनीले नै व्यहोर्ने विषयमा छलफल अघि बढेको छ।
कामदारका बिमाका विषयमा भने विवाद देखिएको छ। नेपाल सरकारले २४ सै घण्टा बिमाको प्रस्ताव गरेको थियो ।
मलेसियाले भने कार्यअवधिको मात्र विमा गर्न सकिने अडान लिएको छ। कामदारका भिसा प्रक्रिया भिएलएनबाटै हुने सम्भावना देखिएको छ।
नेपाल सरकारले त्यसलाई खारेज गरेता पनि मलेसियाले सबै देशबाट कामदार भित्र्याउने प्रक्रिया एउटै भएको भन्दै नेपालका लागि मात्र नयाँ नियम लगाउन नसकिने बताउँदै आएको छ।
नेपालको तर्फबाट श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको वैदेशिक रोजगार महाशाखाका प्रमुख कृष्ण ज्ञवालीको नेतृत्वमा एक टोली मलेसियासँग वार्ता गर्न त्यसतर्फ गएको थियो ।
यसैबीच नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले शून्य लागतमा नेपाली कामदार रोजगारीका लागि मलेसिया लैजाने सहमति स्वागतयोग्य भएको जनाएको छ । सङ्घका अध्यक्ष रोहन गुरुङले नेपाली श्रमिकको हकहित सुनिश्चित हुने गरी दुई देशबीच भएको सहमति सकारात्मक भएको बताए।
अहिले मलेसियाले विभिन्न २१ वटा देशबाट श्रमिक लिँदै आएको छ, कामदारको सम्पूर्ण खर्च मलेसियाले व्यहोर्नुपर्ने सहमति हुँदा मलेसियाले नेपाली कामदार नलिएर अन्य मुलुकबाट कामदार लैजान सक्छ, त्यसतर्फ सरकारले सोच्नुपर्छ, उनले भने ।