अब साउदी अरबमा काम गर्न जाने नेपालीको न्यूनतम ज्याला बढ्ने भएको छ।
अब साउदी जाने नेपाली कामदारले मासिक न्यूनतम ज्याला न्यूनतम १००० रियाल (३० हजार रुपैयाँ) र खाना भत्ता ३०० रियाल (९ हजार रुपैयाँ) पाउने छन्। त्यस्तै अधिकतम ज्याला ११००० रियाल ( ३ लाख ३० हजार रुपैयाँ) र खानाभत्ता ५०० रियाल (१५ हजार रुपैयाँ) पाउनेछन् ।
हाल साउदी अरबमा रहेकाहरुको हकमा भने यो व्यवस्था लागू हुने छैन। राजपत्रमा सूचना प्रकाशन भएको मितिदेखि सो न्यूनतम ज्यालाभन्दा कमको मागपत्र आएमा अब त्यो प्रमाणीकरण नहुने भएको हो। राजपत्रमा सूचना प्रकाशन भएपछि कोही पनि नेपाली १ हजार रियालभन्दा कम तलवमा साउदी जान पाउने छैनन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको पहलमा सरकारले न्यूनतम ज्याला बढाएर प्रस्ताव पारित गरेको हो। चाँडै नै यसलाई राजपत्रमा प्रकाशन गरी लागू गरिने बताइएको छ।
यसअघि न्यूनतम ज्याला ८०० रियाल र खाना भत्ता २०० रियाल रहेको थियो। साथै साउदी जाने कामदारको औषधि उपचार, आवास, यातायात, हवाई टिकट रोजगारदाताले नै उपलब्ध गराउनुपर्नेछ।
सरकारको यो निर्णयपछि साउदी जाने अदक्ष नेपाली कामदार समेत लाभान्वित हुने छन्।