पेट्रोलियम ट्याङ्कर चालकहरुले महिनाको ३२ हजार रुपैयाँ पारिश्रमिक नदिए आन्दोलन गर्ने चेतावनी दिएका छन्।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई भेटेर पेट्रोलियम ट्याङ्कर चालक संघले लिखित रुपमा आफ्ना १८ बुँदे माग अघि सारेको हो।
जसमा पहिलो नम्वर बुँदामा चालकहरुको पारिश्रमिक मासिक कम्तीमा ३२ हजार पुर्याइनुपर्ने माग गरिएको छ। यदी आफ्ना माग पुरा नभएमा भदौ १५ गतेदेखि आन्दोलनमा जाने र त्यसवापत पर्ने सम्पूर्ण क्षति सरकारले ब्यहोर्नुपर्ने संघले चेतावनी दिएको छ।
सहचालकको हकमा भने सरकारले तोकेको न्यूनतम पारिश्रमिक कायम हुनुपर्ने माग संघको छ।
संघले अन्य खर्चबाहेक खाना तथा खुराकी खर्च स्वरुप दैनिक २५ सय रुपैयाँ दिनुपर्ने, १० लाख रुपैयाँसम्मको बिमा व्यवस्था गर्नुपर्ने, चालक र सहचालकलाई अनिवार्य नियुक्ति पत्र दिनुपर्ने, योगदानका आधारमा संचय कोष र उपदानको व्यवस्था गर्नुपर्ने, लगायतका माग संघले अघि सारेको छ। त्यस्तै प्रचलित श्रम ऐनअनुसार बिरामी बिदाको रकम उपलव्ध गराउनुपर्ने संघको माग छ।