पढाइका लागि नेपाली विद्यार्थीले रोज्ने मुख्य गन्तव्य मुलुकमध्ये बेलायत पनि एक हो। बेलायतका विश्वविद्यालय र कलेजहरूले आफ्ना एजेन्टमार्फत मार्केटिङ गर्छन्। त्यसकै आधारमा नेपाली विद्यार्थीले शैक्षिक संस्था रोज्छन्। कुनै शैक्षिक संस्थाका एजेन्ट नेपालमै छन्, कुनैका भारतमा छन्।
बेलायतको शिक्षा प्रणाली विश्वकै उत्कृष्टमध्ये पर्ने भएकाले विद्यार्थीका लागि राम्रो गन्तव्य बनेको हो।
विद्यार्थी स्वयंले विश्वविद्यालय वा कलेजमा सिधै सम्पर्क गरेर पनि प्रक्रिया मिलाउन सक्छ। बेलायतमा उत्कृष्ट विश्वविद्यालय धेरै छन्, पाठ्यक्रम पनि त्यत्तिकै गुणस्तरीय छ।
नेपाली विद्यार्थीहरू डक्टरेट, नर्सिङ फार्मेसी, रेडियोलोजी, प्याथोलोजी, ल्याब प्रविधि जस्ता प्राविधिक कोर्स पढ्न बेलायत जान्छन्। एकाउन्टिङ, आइटी र इन्जिनियरिङ पढ्न जाने पनि उत्तिकै हुन्छन्।
नेपालबाट बेलायत जान चाहने विद्यार्थीले राम्रो र्यांकिङमा रहेका विश्वविद्यालय रोज्नुपर्छ। यस्ता विश्वविद्यालयले शैक्षिक गुणस्तर सन्तुलनमा राख्ने प्रणाली व्यवस्थित गरेका हुन्छन्। जुन विषय पढ्ने भए पनि गतिलो विश्वविद्यालयमा जाने हो भने भविष्य राम्रो हुन्छ।
बेलायतमा सरकारीभन्दा प्राइभेट विश्वविद्यालयमा शुल्क कम छ। धेरैजसो नेपाली विद्यार्थीहरू पनि प्राइभेट नै रोज्छन्। महँगो र सस्तोभन्दा पनि उत्कृष्ट र्यांकिङमा रहेको विश्वविद्यालयमा जानु उचित हुन्छ।
बेलायत गएपछि उतै स्थायी रूपमा बस्ने धेरैको चाहना हुन्छ। त्यहाँको विश्वविद्यालयमा पढाइ पूरा भएपछि थप दुई वर्षको भिसा पाइन्छ। अब यसलाई डेढ वर्ष बनाउने तयारी भएको छ। यो अवधिका लागि पनि स्पोन्सरसिप खोज्नुपर्छ।
स्थायी आवास अनुमतिपत्र (पिआर) पाउन पाँच वर्ष बस्नुपर्ने नियम थियो। त्यसमा परिवर्तन गरेर १० वर्ष बनाइएको छ। बेलायतको पिआर लिने चाहनाले प्राविधिक विषय पढ्नु राम्रो हुन्छ। यसबाट स्पोन्सरसिप पाउन सजिलो हुन्छ।
बेलायतले विदेशी विद्यार्थीका लागि नियममा कडाइ गर्दै गएको छ। ब्याचलर (स्नातक) र मास्टर्स (स्नातकोत्तर) तहका विद्यार्थीले आफ्नो डिपेन्डेन्ट (श्रीमान/श्रीमती) लैजान पाउँदैन। विद्यावारिधि (पिएडी) को विद्यार्थीले मात्र पाउँछ।
पढाइको उद्देश्यले बेलायत जान चाहने विद्यार्थीले केही कुरामा ध्यान दिन जरूरी छ। बेलायत राम्रो गन्तव्य हो। यसलाई सकारात्मक ढंगले लिनुपर्छ। बेलायतमा अवसर पनि प्रशस्त छ तर केही पक्षमा ध्यान दिन जरूरी छ।
पहिलो, बेलायतमा पढ्न उपयुक्त विषय रोज्न सक्नुपर्छ। अंग्रेजी भाषा राम्रो हुनुपर्छ नत्र राम्रो अवसर पनि पाइँदैन।
दोस्रो, बेलायत जानुअघि कुनै न कुनै कामको सीप सिकेको हुनुपर्छ। यसो भयो भने काम पाउन सजिलो हुन्छ।
तेस्रो, धेरैजसो विद्यार्थीले नेपालमा छँदा काममा मेहनत गरेका हुँदैनन्। बेलायतमा धेरै मेहनत चाहिन्छ। त्यहाँ सबै खाले मान्छेहरू व्यस्त हुन्छन्। त्यस्तो जीवनशैली अपनाउन सक्छु भन्ने आत्मविश्वास चाहिन्छ।
चौथो, पुग्नासाथ काम पाइन्छ भन्ने पनि हुँदैन। त्यसैले कम्तीमा ६ महिनाका लागि खर्च धान्ने प्रबन्ध पनि मिलाउनुपर्छ।
यी चार पक्षमा राम्रो तयारी चाहिन्छ।
लन्डनबाहिर बस्ने हो भने मासिक आठ सय र लन्डन आसपासमै बस्ने हो भने एक हजार पाउन्ड खर्च हुन्छ। यसको अर्थ ६ महिना काम पाइएन भने कलेजको शुल्कबाहेक ११ लाख रूपैयाँसम्म खर्च लाग्न सक्छ। यस अनुसारको मनसिक तयारी गरेको हुनुपर्छ।
आफ्नो नेटवर्क राम्रो छ र हातमा कुनै सीप पनि छ भने चाँडो काम पाइन सक्छ। हप्तामा २० घण्टा काम गर्न पाइन्छ। धेरै रोजगारीदाताले पूरा समयका लागि कामदार खोज्ने भएकाले सुरूमा काम पाउन गाह्रो हुन्छ।
विद्यार्थी छोराछोरीले बेलायतबाट कमाएर पठाउन सक्दैनन् भन्ने कुरा अभिभावकले बुझ्न जरूरी छ। आफ्नो खर्च धान्ने गरी कमाउन सक्नु पनि राम्रै मान्नुपर्छ।
लेबर पार्टीको सरकारले ठूलो संख्यामा आप्रवासी कटौती गर्ने योजना बनाएकाले विदेशीका लागि अझै कडाइ हुन सक्छ।
बेलायत जान विद्यार्थी भिसाबाहेक अर्को तरिका पनि छ। बेलायतले सिजनल वर्कर (मौसमी कामदार) लैजाने गर्छ। नेपालमा पनि सिजनल कामदारका रूपमा बेलायत पठाउने भनेर विज्ञापन आइरहेको देखिन्छ।
कृषि फार्मका लागि ६ महिनाको भिसा दिने चलन छ। कुखुरा फार्ममा काम गर्नेले तीन महिनाको भिसा पाउँछ। यसमा स्पोन्सरसिपको प्रक्रिया मिलाउन केही कम्पनीहरूले मान्यता पाएका छन्। त्यस्ता कम्पनीमार्फत मात्र सिजनल कामदारमा बेलायत जान पाइन्छ।
नेपालबाट सिजनल कामदार भएर बेलायत जान पाइन्छ तर व्यावहारिक रूपमा असम्भव जस्तै छ। विगतमा गएका नेपालीहरूले अनेक उपाय लगाएर उतै बस्ने प्रयास गरे। कतिपयले शरण लिए। त्यस्तो स्थिति भएपछि अवसर पाउन गाह्रो भयो। विशेष गरेर पूर्वी युरोपबाट सिजनल कामदारका रूपमा धेरैले अवसर पाउँछन्।
नेपालमा कसैले मौसमी कामदार भिसामा बेलायत पठाइदिन्छु भन्यो भने नपत्याउनु होला। मैले टिकटक लगायत सामाजिक सञ्जालमा 'स्क्याम' (ठगी) भएको पनि देखेको छु। अंग्रेजी भाषा परीक्षा नदिएरै, अन्त्यन्त कम खर्चमा बेलायतमा रोजगारीको अवसर भनेर अनेक प्रलोभन देखाएको पाइन्छ। यो सत्य होइन, ठगी हो। यसमा भर नपर्न मेरो आग्रह छ।
रेस्टुरेन्टमा र कुनै फर्ममा काम गर्न नेपालबाट कामदार लैजाने अवस्था छैन। अहिले बेलायतमै बेरोजगारी बढिरहेको छ। त्यहाँ रहेका विद्यार्थीहरूले समेत काम पाउन गाह्रो भएको छ, यताबाट नयाँ कामदार लैजाने अवस्था नै छैन। यस्तो बेलामा यहाँबाट कसैले कामदार लैजाने भन्छ भने त्यो ठगी हो।
खास किसिमका केही रोजगारीमा अहिले पनि नेपालबाट स्पोन्सर गरेर लैजाने अवस्था हुन सक्छ। यस्तो अवसर दक्ष जनशक्तिका लागि मात्र हो। दक्ष आइटी प्राविधिक, डाक्टर, नर्स, वैज्ञानिक भए अहिले पनि स्पोन्सर हुन सक्छ। अदक्ष कामदार लैजाने अवस्था छैन। पहिला त्यहाँ रहेका आप्रवासीले काम पाउनुपर्यो। त्यसबाट पुगेन भने मात्र कामदार थप्ने सरकारको नीति छ।
(बच्चुकैलाश कैनी बेलायतको सत्तारूढ लेबर पार्टीका नेता तथा एंगिला रस्किन विश्वविद्यालयका प्राध्यापक हुन्।)