दक्षिण कोरियामा रहेका नेपाली कामदारसँग परिवारका सदस्यले भेटघाट गर्न सक्ने भएका छन् ।
रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत रोजगारीका क्रममा हाल दक्षिण कोरियामा रहेका नेपाली कामदारलाई भेट्न उनीहरुका परिवारका सदस्य त्यता जान पाउने व्यवस्था मिलाइसकेको नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङसिकले बताएका छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट र राजदूत योङसिकबीच सोमबार मन्त्रालयमा भएको शिष्टाचार भेटमा राजदूत योङसिकले केही कामदारका आफन्तले भेटघाट गरेर आइसकेको समेत जानकारी दिए। उनले कोरियाले केही समयभित्रै यसको औपचारिक घोषणा गर्ने बताए ।
इपिएसमार्फत कोरिया गएका नेपाली कामदार चार वर्ष १० महिना नपुगी स्वदेश फर्कन नपाउने हुँदा निराशा र आत्महत्याको समस्या न्यूनीकरण गर्न कामदारका आफन्तलाई भेटघाटको अवसर प्रदान गर्न नेपाल सरकारले दक्षिण कोरियाली सरकारसँग आग्रह गर्दै आएको थियो ।
भेटका अवसरमा मन्त्री विष्टले नेपाली युवाका लागि दक्षिण कोरिया आकर्षक रोजगारीको क्षेत्र रहेको बताउँदै इपिएसमार्फत कोरिया लैजाने कामदारको संख्या थपका लागि कोरिया सरकारसँग पहल गर्न आग्रह गरे ।
मन्त्रालयका प्रवक्ता प्रकाश दाहालका अनुसार मन्त्री विष्टले नेपालमा रहने कोरियालीलाई नेपाल बसाइका क्रममा कुनै पनि असुविधा हुन नदिइने प्रतिबद्धता व्यक्त गरे। साथै संघीय सरकारको मातहत रहने गरी स्थापना हुन लागेका तीन प्रतिष्ठानस्तरका सीप विकास केन्द्रको पूर्वाधार निर्माणमा कोरिया सरकारको सहयोगको अपेक्षा गरे।
राजदूत पार्कले नेपाली कामदार इमान्दार र मेहनती भएकाले कामदारको संख्या थप गर्नाका साथै सेवा क्षेत्रमा समेत कामदार लैजाने प्रक्रियामा सहयोग गर्ने र प्रतिष्ठानस्तरका सीप विकास केन्द्रको पूर्वाधार निर्माणमा कोरिया सरकारबाट आवश्यक सहयोग हुने प्रतिबद्धता व्यक्त गरे।
पछिल्ला दिनमा इपिएसमार्फत कोरिया जाने नेपालीको संख्या बढ्दै गएको छ।
अहिले नेपाली कामदारले कोरियामा मासिक एक लाख ५० हजारदेखि दुई लाख रुपैयासम्म पारिश्रमिक पाउँदै आएका छन् ।
सन् २००८ देखि गत जेठ मसान्तसम्म इपिएसमार्फत ५४ हजार ३६३ नेपाली कामदार दक्षिण कोरिया गएका छन्।
जसमा महिला ३ हजार ३३८ र पुरुष ५१ हजार २५ छन्।
सन् २०१८ को भाषा परीक्षाबाट सात हजार ९९८ कामदार कोरिया जाँदै छन् ।