सरकारले म्यानपावर कम्पनीको इजाजत धरौटी रकम ६ करोड पुर्याउने प्रस्ताव ल्याएपछि म्यानपावर व्यवसायीहरुबीच चर्को विवाद उत्पन्न भएको छ।
बुधबार राजधानीमा आयोजित भेलामै बैदेशिक रोजगार व्यवसायीबीच आरोपप्रत्यारोप भएको छ। धरौटी रकम बढाउन सक्नेले सरकारी प्रस्तावको समर्थन गरेका छन्। धरौटी रकम बढाउन नसक्नेले भने साना कम्पनीलाई बन्द गर्ने नियतले षडयन्त्र गरिएको आरोप लगाएका छन्।
वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्व नै ६ करोड धरौटी लिने सरकारी प्रस्तावको पक्षमा उभिएको आरोप लगाउँदै व्यवसायीहरु आक्रोशित भएका हुन। व्यवसायीका अनुसार हाल इजाजत पत्र लिनका लागि ६ लाख नगद र २३ लाख बैंक ज्ञारेन्टी देखाउनुपर्ने व्यवस्था छ।
भेलामा संघका अध्यक्ष रोहन गुरुङले बोल्दै गर्दा कांग्रेस निकट व्यवसायीले उनको राजीनामा माग गर्दै प्रर्दशन गरेका थिए। गुरुङ नेकपा निकटका व्यवसायी हुन्।
६ करोड धरौती कम्पनी इजाजतका लागि दिनु व्यवसायी, सरकार र कामदार कसैको पनि हितमा नहुने दावी गर्दै विपक्षीले अध्यक्ष गुरुङप्रति आक्रोस व्यक्त गरे।
म्यानपावर व्यवसायलाई ध्वस्त पार्ने गरी प्रस्ताव ल्याउँदा पनि व्यवसायीहरुसँग गुरुङले कुनै विरोध नगरेको र पदको चरम दुरुपयोग गरेको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डकी सदस्य सिता देवकोटाले आरोप लगाइन्। उनले अध्यक्ष गुरुङको राजीनामा माग गरिन्।
धरौटी बढाएर साना कम्पनी बन्द गराएपछि बिजनेस झन् बढ्ने नियत राखेर बन्देज गर्न खोजिएको विपक्षी व्यवसायीको आरोप छ। अध्यक्षनिकट व्यवसायीले भने वैदेशिक रोजगारलाई व्यवस्थित र बलियो बनाउन सरकारले प्रस्ताव ल्याएको भन्दै समर्थन जनाएका छन्।
मुलुकमा हाल १४ हजार म्यानपावर व्यवसायी रहेका छन्। उनीहरुको उचित व्यवस्थापन गर्न भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावर कम्पनीले इजाजतका लागि ६ करोड धरौटी बुझाउनुपर्ने व्यवस्थासहितको नयाँ प्रस्ताव मन्त्रीपरिषदमा लगेको छ।
म्यानपावर कम्पनीहरु धेरै भएकाले संख्या घटाउने र पीडितको क्षतिपूर्तिका लागि उचित रकमको व्यवस्था गर्ने उद्देश्यले सरकारले धरौटी बढाउने भएको हो। कम्पनीहरुलाई एक आपसमा मर्जमा जान समेत सरकारले आग्रह गरेको छ।
नयाँ प्रस्तावले म्यानपावर कम्पनीबाट हुने ठगी नियन्त्रणका लागि प्रयास हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बताउँदै आएका छन्।
उनीहरुले सरकार म्यान पावर व्यवसायलाई पेल्दै अगाडि बढ्न लागि परेको आरोप लगाउँदै मान्य नहुने चेतावनी पनि दिए।