वैदेशिक रोजगारमा जानेको संख्या घटे पनि ठगीमा परेको भन्दै उजुरी गर्नेको संख्या भने बढेको छ। वैदेशिक रोजगार विभागमा गत आर्थिक वर्षसम्म डेढ अर्ब रुपैयाँ बराबरको ठगी भएको भन्दै दुई हजार बढी उजुरी परेका छन्।
विभागमा परेका संस्थागत र व्यक्तिगत गरी २ हजार १२९ वटा उजुरीमा १ अर्ब ५२ करोड रुपैयाँ ठगी भएको दावी गरिएको छ। विभागमा जेठसम्म कुल १ हजार ९५६ उजुरी परेकोमा असार महिनामा मात्रै १७३ उजुरी थपिएका छन्।
विभागका अनुसार गत आवसम्म ठग्नेहरुबाट २० करोड रुपैयाँ बराबरको विगो रकम भराइएको छ। विभागमा पर्ने उजुरीमध्ये संस्थागतभन्दा व्यक्तिगत तर्फको धेरै छ। कुल १ हजार १०९ वटा व्यक्तिगत उजुरी दायर भएकोमा १०२० वटा संस्थागत छन्।
विभागबाट छिनाफानो हुन नसकेका उजुरीहरु अदालतसम्म जाने गरेका छन्। विभागबाट अदालतमा कुल २३४ वटा मुद्दा दायर भएका छन्। सो संख्याको उजुरीमा ३३ करोड ६० लाख रुपैयाँ बराबरको ठगी भएको पीडितहरुको दावी छ।
कम्पनीले सम्झौता गरेजति तलव तथा सेवा सुविधा नदिएर फर्किनेहरुले बढी मात्रामा उजुरी गर्ने गरेको उजुरी शाखाका एक कर्मचारीले बताए।
‘कतिपय उजुरी उनका आफन्तीहरुले पनि दिने गरेका छन्, उजुरी परेपछि पक्ष विपक्षीलाई बोलाएर सहमतिमा ल्याउने हाम्रो पहिलो कोसिस हुन्छ’ उनले भने ‘सहमति नभएमा प्रमाणका आधारमा अदालतसम्म मुद्दा दायर हुन्छन्।’
उजुरी बढ्दै जाँदा वैदेशिक रोजगारमा जानेको संख्या भने घट्दै गएको छ। गत आर्थिक वर्षमा कुल ३ लाख ५४ हजार ८२ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन्। जवकि अघिल्लो वर्षको सोही अवधिमा ३ लाख ८३ हजार ४९३ ले यस्तो स्वीकृति लिएका थिए।
सो अवधिमा कामका लागि विदेश जानेमध्ये मलेसिया जाने सबैभन्दा धेरै छन्। मलेसियाका लागि १ लाख ४ हजार २०९ जनाले अन्तिम श्रम स्वीकृति लिएको विभागले जनाएको छ।
विभागका अनुसार दोस्रो उत्कृष्ट गन्तव्य कतारमा सो अवधिमा १ लाख ३ हजार १७९ नेपाली पुगेका छन्। कतारपछि दुबई, साउदी अरब, कुवेत, दक्षिण कोरिया, बहराइन जाने नेपालीको संख्या उच्च छ।