मलेसियाले नेपाली कामदार मलेसिया नपठाउने निर्णय पुनर्विचार गर्न नेपाल सरकारसँग आग्रह गरेको छ ।
मलेसियाका मानव संसाधन मन्त्री एम कुलाशेगरले निर्णय पुनर्विचार गर्न सरकारसँग आग्रह गरेको हो ।
नेपालले आफ्ना कामदार पठाउन रोक लगाएपछि मलेसियन सरकारले पहिलो पटक यस विषयमा औपचारिक रूपमा जानकारी दिएको हो।
मन्त्री एम कुलाशेगरले मलेसियाको विदेशी कामदार ल्याउने प्रक्रिया सबै देशहरूमा एउटै भएको र नेपालका विषयमा यसलाई हटाउन नसकिने बताए।
मलेसिया जान भिसा प्रोसेसिङका लागि वन स्टप सेन्टर र भिएलएन नेपालसहित ५७ देशमा छ। भिसा प्रोसेसिङका लागि मलेसियन सरकारले निजी कम्पनीहरूलाई एउटै प्रक्रियाबाट ल्याउन सहमति गरेका कारण नेपालको हकमा पनि त्यसलाई उल्टाउन नसकिने मन्त्रीले बताएका छन् ।
नेपाली कामदारसहित मलेसिया विदेशी कामदारमै निर्भर रहेको भन्दै उनले कामदार पठाउने देशको यस्तो निर्णयले मलेसियाको प्रगतिमै असर पर्ने बताएका छन् ।
नेपाली कामदारमा विषयमा देखिएको समस्या समाधानका लागि मलेसियन सरकार उपयुक्त विकल्प खोजी गरिरहेको उनले बताए।
'तेस्रो पक्षीय कम्पनीले एकतर्फी रूपमा कामदारलाई अनावश्यक रूपमा रकम असुलेको बारेमा मलेसियाको सरकार जानकार छ,' मन्त्री कुलाशेगरनले भने, 'यो निर्णय अघिल्लो सरकारकै पालामा भएको हो।'
त्यसका लागि दुई हप्तादेखि नेपाली पक्षसँग कुराकानी भइरहेको मलेसियन सरकारले जनाएको छ।
समस्या समाधान गर्न दुई देशका सरकारबीच सम्झौता गरेर अर्थात जी टु जी प्रणालीमार्फत् कामदार ल्याउने व्यवस्था गर्न सकिने उनले बताए।
मलेसिया जाने कामदारसँग विभिन्न संस्थाले गैरकानूनी रूपमा रकम लिएर ठगी गरेको भन्दै सरकारले मलेसिया जान रोक लगाएको छ। जेठ २ गतेसम्म प्रक्रिया पूरा गरेका कामदार भने मलेसिया जान सक्ने छन्।
मलेसियामा नेपाली कामदार प्राथमिकतामा छन्। इन्डोनेशियापछि मलेसियामा धेरै नेपाली कामदार छन्।