चालु आर्थिक वर्षको ११ महिनामा कामको लागि विदेश जाने नेपालीहरुको संख्या घटेपनि उनीहरुले पठाउने रुपैयाँ भने बढेको छ। अघिल्लो आर्थिक वर्षको ११ महिनाको तुलनामा यो वर्ष विदेशबाट आउने रुपैयाँ ७ दशमलब ३ प्रतिशतले बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार यो अवधिमा ८ प्रतिशतले कामदार घटेपनि उनीहरुले पठाउने रेमिट्यान्स भने बढेको छ। चालु वर्षको ६ महिनामा बृद्धिदर ऋणात्मक भएको रेमिट्यान्स आर्थिक वर्षको अन्त्यतिर बढेको छ। यो अवधिमा ६ खर्ब ७९ अर्ब ७३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। िअघिल्लो वर्षको यही अवधिमा रेमिट्यान्स ५ प्रतिशतलेमात्र बढेको थियो।
यो वर्षको ८ महिनामा श्रम स्वीकृति लिने नेपालीहरुको संख्या भने आठ प्रतिशतले घटेको छ। पुनः श्रमस्वीकृति लिने बाहेकको यस्तो संख्या यो वर्ष ३ लाख ४२ हजारमात्र रहेको छ। जुन अघिल्लो वर्ष ३ लाख ७२ हजार थियो।
पछिल्लो समय सरकारले हुन्डी कारोबारीमाथि कडा निगरानी राखेर अनुसन्धान गर्न थालेपछि त्यसको असर रेमिट्यान्समा पर्न थालेको कतिपयको धारणा छ भने कतिपय भने डलरको भाउ बढेकाले रेमिट्यान्स बढेको बताउछन्।