विमान बंगलादेश एयरलाइन्सले चरम शोषण गरेको भन्दै श्रमिकहरु हड्तालमा उत्रिएका छन्। विगत नौ वर्षदेखि काम गर्दै आएकाको तलव महिनाको जम्मा ३५ सय मात्रै रहेको श्रमिकले बताएका छन्।
नौ वर्षदेखि एयरलाईन्समा कार्यरत देवी थापाले आफ्नो मासिक तलब पैतीस सय रुपैयाँ रहेको बताइन्। ‘त्यो पनि पेट्रोल खर्च भनेर थपेर आउने हो तलव त दुई हजार मात्रै हो’ उनले भनिन्।
भत्ता, दसैँ खर्च लगायत अन्य केही पनि नपाउने गरेको उनले बताइन्। ‘तलब बढ्छ भन्ने आश्वासन दिन्छ तर झुलाएर राख्छ’ उनले भनिन्।
श्रमिकमाथि एयरलाईन्सले चरम श्रम शोषण गरेको भन्दै पर्यटन श्रमिक संगठन नेपाल ट्रेकिङ–ट्राभल्स– र्याफ्टिङ–एयरलाईन्स–संस्कृत–पुरातात्विक–कुरियर–कार्गाे–कर्मचारी–मजदुर यूनियन (यूनिट्राभ)को नेतृत्वमा एयरलाईन्सको मुख्य कार्यालयमा बिहीबारबाट अनिश्चितकालिन हड्ताल सुरु भएको हो।
‘हाम्रो माग भनेको दुःख गरेअनुसार दुःखको फल मिलोस् भन्ने हो, आश गरेर कति दिन बाँच्ने?’ हड्तालमा उत्रेकी थापाले भनिन् ‘लिखित, मौखिकरुपमा पटक पटक भन्दा पनि सुनवाई नभएपछि बाध्य भएर आन्दोलनमा उत्रेका हौँ।’
विगत २६ वर्षदेखि सोही एयरलाईन्समा काम गर्दै आएका गुञ्जबहादुर श्रेष्ठले महिनामा जम्मा ५ हजार मात्रै तलब बुझ्ने गरेको बताए। बारम्बार कम्पनीले तलव बढाइदिने आशा देखाएर बीचमै अर्को व्यक्ति परिवर्तन गर्ने गरेको उनको गुनासो छ।
निराश मुद्रामा देखिएका उनले भने, ‘काम गरेको धेरै वर्ष हुँदा पनि खानाकै लागि पनि नपुगेर हड्तालमा उत्रिन बाध्य भयौँ।’ दिनको दुई घण्टा काम गरेबापत दैनिक ज्याला २ सय रुपैयाँ दिने आश्वासन दिएर आफूलाई राखेपनि सोह्र घण्टासम्म काम लगाउने गरेको उनको आरोप छ।
‘दिनको २ घण्टा काम गरेबापत २ सय रुपैयाँ दिन्छु भनेर काम गरेको तर न्यूनत्तम १२ घण्टादेखि १६ घण्टासम्म काम लगाउँछ’ उनले भने, ‘कार्यालयको रेखदेखदेखि कार्यालय खोल्ने, चेक साट्ने काम गर्छु, आफ्नो समस्या कहिल्यै सम्वोधन भएन।’
आफूहरुलाई तलब दिँदा व्यवस्थापन पक्षले एउटा कागजमा हस्ताक्षर गराउनेमात्र गरेको उनले बताए। एयरलाइन्सको कर्मचारी भनेर पहिचान हुनेगरी परिचय पत्रसमेत नदिएको उनको गुनासो छ।
उक्त एयरलाइन्समा काम गर्दै आएका कृष्ण भण्डारीले एयरलाइन्समा काम गर्दै आएका १० नेपाली श्रमिकको चरम श्रमशोषण भईरहेको बताए।
श्रमिकहरुलाई ओभरटाईम काम लगाउने, ओभरटाईमको पैसा पनि नदिने, काम ढिला भएर राति हुँदा आफ्नै खर्चमा ट्याक्सी लिएर घर जानुपर्ने बाध्यता रहेको उनले बताए।
कर्मचारीहरुलाई नियुक्तिपत्र समेत नदिएको विगत ६ वर्षदेखि काम गर्दै आएका एयरलाईन्सका ट्राफिक सुपरभाईजर सुरेश खतिवडाले बताए।
श्रमिकहरुलाई कुनैपनि सार्वजनिक बिदा नदिने गरेको हड्तालमा उत्रिएका श्रमिकहरुले बताएका छन्।
सरकारले दिएको न्यूनत्तम सेवा सुविधा र शर्तअनुसार एयरलाइन्सले काम नगरेको पाईएपछि हड्तालमा उत्रन बाध्य भएको भन्दै यूनिट्राभका अध्यक्ष सुमन पराजुलीले वार्ताबाट माग पुरा नगरे एयरलाईन्सको मुख्य कार्यालयमा तालाबन्दी गरिदिने चेतावनी दिए।