आफूहरुलाई चरम शोषण गरिएको भन्दै नेपाल टेलिकम श्रमिक युनियनले प्रमुखको कार्यकक्षबाहिर धर्ना दिई विरोध जनाएको छ।
केही दिनदेखि नै प्रवन्ध निर्देशक कामिनीराज भण्डारीको कक्षबाहिर युनियन श्रमिकले विरोध गर्दै आएका छन्। आफ्ना मागलाई बेवास्ता गरिए कडा कदम चाल्ने युनियनले चेतावनी दिएको छ।
श्रम ऐन २०७४ को पूर्ण कार्यान्वयन नगरी आफूहरुलाई ज्यालादारी, करार तथा बाह्य स्रोतबाट काममा लगाइएको युनियनको आरोप छ।
विभिन्न समयमा आधिकारिक ट्रेड युनियनसँग गरिएको सम्झौता कार्यान्वयन नगरिएको, कर्मचारी बिनियमावली आधिकारिक ट्रेड युनियनको चुनाव भएको ५ महिना हुँदासम्म संशोधन नभएको लगायतका विषयलाई उठाउँदै एनटिसी वर्कर युनियनले विरोधस्वरुप धर्ना दिएको हो।
मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर संजाल विस्तारमा ढिलाई गरिएको, विभिन्न परियोजनाका काममा ढिलाई गरिएको, सेवा खस्किँदै गएको लगायतका विषयलाई समेत उठाएर युनियनले विरोध जनाएको छ।
युनियनका कार्यवहाक अध्यक्ष नन्दकुमार कार्कीले आफूहरुलाई व्यवस्थापन पक्षले अझैसम्म वार्तामा नबोलाएको भन्दै थप कडाईका कार्यक्रमहरु ल्याउने चेतावनी दिए।